इटहरीः झापा र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन् ।
हिजो दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ का ३० वर्षीय प्रफुल राजंशीलाई २ ग्राम २३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । राजवंशीको साथबाट प्रहरीले लागूऔषधसहित डिजिटल काँटा १ थान, नगद. ५,२३० रुपैयाँ र विभिन्न कम्पनीका ४ थान मोबाइलसमेत बरामद गरेको छ । यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–९ बाट लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गएराति १०ः०० बजे ७५ मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित स्थानीय ३६ वर्षीय दिनेश खड्का, बेलका नगरपालिका–२ का ३७ वर्षीय विनोद परियार, बेलका नगरपालिका–७ का २८ वर्षीय मेजरमान राई र २९ वर्षीय बोगटी भनिने जीवन राईलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कायालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अभियुक्तहरुउपर सम्बन्धित जिल्लाको जिल्ला अदालतबाट म्याद थप गराई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको छ ।