इटहरीः सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका –१७ का मनोज खत्री र वराहक्षेत्र नगरपालिका २ का २९ वर्षीय कृष्ण घिमिरे रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार इटहरीका मनोजलाई शनिबार साँझ ६ः०० बजे पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेपछि उनी घाइते भएका थिए । उनलाई उपचारार्थ मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा उनको सोही साँझ ७ः०० बजे ज्यान गएको हो ।

यसैगरी, वराहक्षेत्रका कृष्णलाई आफ्नै घर वरिपरि हात्ती रोक्नका लागि लगाइएको तारमा छुँदा शनिबार दिउँसो करेन्ट लागेको थियो । करेन्ट लागी घाइते भएका कृष्णलाई उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।