काठमाडौंः सरकारले दिन लागेको कोरोनाविरुद्धको जोनसन एन्ड जोनसनको खोप सुरक्षित रहेको स्पष्ट पारिएको छ ।

जोनसन एन्ड जोनसनको खोप तुलनात्मक रुपमा सुरक्षित नरहेको र साइड इफेक्ट धेरै रहेको हल्ला चलेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिना संकोच ढुक्क भएर खोप लगाउन आग्रह गरेको छ । “अमेरिकाको औषधि नियामक निकायले (एफडीए) जोनसन एन्ड जोनसनको खोपले स्नायु प्रणाली सम्बन्धी गियान बाटै सिन्ड्रोमको जोखिम बढाउन सक्ने जानकारी दिएपछि यो खोप सुरक्षित नभएको हल्ला फैलिएको छ,” स्वास्थ्य मन्त्रालयले भजेको छ, “तर, अहिलेसम्म उपलब्ध प्रमाणले खोप र गियानबीच सिन्ड्रोमको जोखिमबीच प्रत्यक्ष सम्बन्ध रहेको देखिएको छैन । अमेरिकाको औषधि नियामक निकायले यो रोग एकदमै बिरलै देखिने र यसको जोखिमभन्दा यो खोप लगाउँदा हुने फाइदा बढी हुने कुरामा जोड दिएको छ ।” 

स्वास्थ्य मन्त्रालयले यसबारे जानकार रहेको भन्दै आगामी दिनमा निगरानी अघि बढाउने जनाएको छ । मन्त्रालयले जोनसन एन्ड जोनसनको खोप लगाउँदा हुने सम्भावित जोखिमभन्दा यसले कोभिड–१९ विरुद्ध दिने लाभ बढी रहेको दाबी गरेको छ । “त्यसैले यस्ता हल्लाहरुको प्रभावमा नपरि निसंकोच तोकिएको मिति र स्थानमा गई आफ्नो पालो अनुसार खोप लगाऔं,” मन्त्रालयले अपिल गरेको छ ।

कोभ्याक्स कार्यक्रममार्फत अमेरिकाबाट ल्याइएको जोनसन एन्ड जोनसनको खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ । एक डोज मात्र लगाए पुग्ने यो खोप ५०–५४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने छ । यो खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकलाई लगाइने मन्त्रालयले जनाएको छ । नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई यो खोप दिइने छ । अमेरिकाबाट गत सोमबार जोनसन एन्ड जोनसनको १५ लाख ३४ हजार ८५० डोज खोप ल्याइएको छ । -बाह्रखरीबाट