इटहरीः कोरोना भाइरसको महामारी नियन्त्रण गर्न नेपालमा जारी खोप अभियानलाई व्यवस्थित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले मातहतका निकायलाई निर्देशन दिएका छन् ।

खोप केन्द्रको अपर्याप्तताका कारण सर्वसाधारणको भीड बढ्न गई संक्रमण विस्तार हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै खोप केन्द्रको संख्या बढाउन उनले निर्देशन दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलका अनुसार अत्याधिक भीडका कारण लक्षित समूह खोप प्राप्त गर्नबाट बञ्चित रहेको कारण खोप केन्द्रमा पर्याप्त जनशक्तिको व्यवस्था गरी प्रभावकारी रुपमा खोप वितरण गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन् ।

“खोपको स्थानीय व्यबस्थापन र सुक्ष्म योजना प्रदेश र सो मातहतको सम्बधित जिल्ला स्थित स्वास्थ्य कार्यालय र स्थानीय सरकार महानगर÷उपमहानगर÷नगरपालिका वा गाउपालिकाले समन्वयमा गर्ने हुँदा सबै सम्बेदनशील बनिदिनु हुन र यथेष्ट खोप केन्द्रको व्यवस्था गर्न र सबै खोप केन्द्रहरु संचालन भएका अस्पताल वा खोप केन्द्रमा खोप दिने जनशक्तिको व्यवस्थापनका लागि सम्बधित सबै पक्षलाई मन्त्रालय अपिल गर्दछ,” प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “हाल देशका विभिन्न जिल्लाहरुमा ५५ वर्षभन्दा माथिका नागरिकका लागि तथा विश्वविद्यालय र व्द्यिालयक शिक्षक, यातायात सेवामा संलग्न तथा यस अगाडि छुटेका अत्यावश्यक सेवामा कार्यरतहरुका लागि भेरोसेल तथा अब क्रमशः ५०– ५४ उमेर समूहमा जोन्सन एन्ड जोन्सनको खोप साथै ६५ वर्ष माथिका नागरिकहरुको दोस्रो मात्राको कोभिशिल्ड खोप पनि सुचारु हुँदै छ ।”