इटहरीः सर्वोच्च अदालतको आदेशबाट असार २८ गते दोस्रो पटक पुनःस्थापित प्रतिनिधिसभा र राष्ट्रियसभको संयुक्त अधिवेशन आज अपराहन्न ४ः०० बजेका लागि आह्वान गरिएको छ ।

साउन ३ गते साँझ ५ः०० बजेसम्म बस्नेगरी अधिवेशन आह्वान गर्न जारी गरिएको आदेश मन्त्रिपरिषद् बैठकले असार ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । अधिवेशन आह्वान भएपछि त्यसका लागि गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार संसद् बैठकपूर्व सभामुख अग्निप्रसाद सापकोटा, सांसद्, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकार गरी ८०१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये तीन जनाको नतिजा पोजिटिभ आएको छ भने अन्य सात सय ९८ जनाको नेगेटिभ नतिजा आएको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ । यस्तै, सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ । यस अधिवेशनमा २०७४ सालको निर्वाचनमा बहुमत प्राप्त गरी करिब साढे तीन वर्ष सरकार चलाएको नेकपा एमाले प्रमुख प्रतिपक्षको भूमिकामा देखिने छ ।

प्रतिनिधिसभामा नेकपा एमालेका एक सय २१, नेपाली काङ्ग्रेसका ६३, नेकपा माओवादी केन्द्रका ४९ र जनता समाजवादी पार्टी नेपालका ३४ सांसद् छन् । प्रनिनिधिसभामा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक÷एक सांसद् छन् । छक्कबहादुर लामा स्वतन्त्र सांसदका हैसियतमा छन् । अघिल्लो वर्ष असार १८ गते स्थगित भएको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन विभिन्न राजनीतिक खिचातानीपछि आज बस्न लागेको हो । लामो समयसम्म संसद् अधिवेशन अवरुद्ध हुँदा प्रतिनिधिसभामा ३६ र राष्ट्रियसभामा १९ गरी ५५ विधेयक विचाराधीन रहेका छन् ।