इटहरीः प्रदेश नम्बर २ को सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । पार्टीका तर्फबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा भरतप्रसाद साह र सोही मन्त्रालयको राज्यमन्त्रीमा रुवीकुमारी कर्णलाई सहभागी गराउँदै नेकपा माओवादी केन्द्र पनि सरकारमा गएको हो ।
प्रदेश २ मा जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गरिरहेकोमा सो पार्टीका दुई जना मन्त्रीहरु ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज कुमार कुशवाहाले राजीनामा गरी माओवादी केन्द्रलाई सरकारमा सहभागी हुने मार्गप्रशस्त गरिदिएको हो । नवनियुक्त मन्त्रीहरुले मधेश भवनमा आयोजित एक समारोहका बीच प्रदेश प्रमुख राहेश झा (अहिराज) बाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
सपथग्रहण समारोहमा प्रदेश सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश, प्रमुख सचिवलागयत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहको थियो । मुख्यमन्त्री लालबाबु राउतले नियुक्त गरेका मन्त्रीहरुलाई प्रदेश प्रमुख झाले सपथ दिलाएका हुन् ।