इटहरीः सुनसरीको कोसी गाउँपालिका ५ स्थित कुम्याहीबाट सशस्त्र प्रहरी बलले एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोलीसहित दुई दाजुभाइलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४८ वर्षीय विद्यानन्द यादव र ४६ वर्षीय चन्द्रदेव यादव रहेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) माधव पौडेलले जानकारी दिए । उनका अनुसार जग्गाको विषयमा एकापसमा विवाद गरिरहेका अभियुक्तहरुमध्ये एकले गोली हानेर उडाइदिने धम्की दिएको सुनेर छिमेकीले दिएको सूचनाका आधारमा दुवै जनालाई पक्राउ गरिएको हो ।
अभियुक्तको घरमा खानतलासी गर्ने क्रममा आँपको रुखमुनि लुकाई राखिएको अवस्थमा हातहतियार फेला पारी बरामद गरिएको जनाउँदै एसपी पौडेलले अभियुक्तहरुलाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने जनाएको छ ।