इटहरीः झापा दमक नगरपालिका–७ हाटखोलाबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी–४ का ३५ वर्षीय विक्रम गुरुङ, इटहरी १९ का २६ वर्षीय मिलन राई, झापाको दमक–७ का ४० वर्षीय कर्णबहादुर राई, ४४ वर्षीय गंगा पाठक, ४० वर्षीय राजन दाहाल, गौरादह–३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अंकित कार्की, गौरादह–८ का ३८ वर्षीय इन्द कुमार राजवंशी, गौरादह–२ का ३२ वर्षीय निर्मल थापा, दमक–२ का ४२ वर्षीय रामबहादुर धिमाल र दमक–६ का ३३ वर्षीय विजय सिंह रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
हिजो साँझ ६ः०० बजे पक्राउ परेकामध्ये कर्णबहादुर राईको घरमा ठूलो रकमको बाजी राखी जुवा खेलिरहेको भन्ने विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले बताए । उनका अनुसार जुवाको खालबाट प्रहरीले १६ थान कौडा र नगद २ लाख ८ हजार ९५ रुपैयाँसमेत फेला पारी बरामद गरेको छ । पक्रउ परेका अभियुक्तहरुउपर जुवा ऐनअन्तर्गत कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।