इटहरीः अन्दाजी ४०–५० उमेरका दुई जना पाको व्यक्ति (लुटेरा) शुक्रबार दिउँसो करिब २ बजे मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित त्रिवेणी चौकको शिव पाञ्चायन ज्वेलर्समा प्रवेश गर्छन् । ज्वेलर्समा प्रवेश गरेको केही समयमै कम्मरबाट पेस्तोल निकालेर एक्कासी अर्को झोला बोकेका व्यक्तिलाई ज्वेलर्सको सटर झार्न अह्राउँछन् । आधा सटर झारेपछि लुटेरामध्ये एकले पसलभित्र प्रवेश गर्न लागेकी सञ्चालक महिलालाई ज्वेलर्सभित्रै तान्ने प्रयास गर्छन् ।
तर महिला उम्कन सफल हुन्छिन् । त्यसपछि ज्वेलर्सभित्र प्रवेश गर्ने अर्को झोला बोक्ने व्यक्तिले आफ्नो झोलाबाट स्वचालित हतियार स्टर्लिङ मेसिन गन (एसएमजी) निकाल्छन् र त्यसमा लाग्ने म्यागजिन ‘लोड’ गर्छन् । त्यत्तिकैमा ज्वेलर्सबाहिर लुटपाट हुन लागेको भन्दै हल्ला भइसकेको हुन्छ । होहल्ला गर्दै स्थानीयहरू ज्वेलर्सअगाडि भेला हुने क्रममा लुटेरा समूहको अर्को एक सदस्य (जो बाहिर बसेका हुन्छन् ) ले पेस्तोल भीडतर्फ तेर्साउँदै भित्र रहेका दुई जना साथीलाई त्यहाँबाट भाग्न भन्छन् । पेस्तोल तेर्साउँदै ज्वेलर्सको पूर्वप्िटटको बाटो हुँदै नम्बर प्लेट बिनाको मोटरसाइकलमा चढेर तीनै जना फरार हुन्छन् । बाहिर होहल्ला भएपछि लुटेरा समूहको ज्वेलर्स लुट्ने योजना असफल हुन्छ ।
स्वचालित हतियारको प्रयोग
यो घटनामा लुटेरा समूहका सदस्यमध्ये एक जनाले प्रयोग गरेको हतियारका कारण अहिले १ नं प्रदेशका सबै सुरक्षा निकायहरू गम्भीर बनेका छन् । स्टर्लिङ मेसिन गन (एसएमजी) नाम गरेको उक्त हतियार स्वचालित हतियारमा पर्छ । यो हतियार प्रायः नेपाली सेना, सशस्त्र प्रहरी र सीमित सङ्ख्यामा नेपाल प्रहरीले मात्र प्रयोग गर्ने हतियार हो ।
यो हतियार तत्कालीन जनयुद्धमा माओवादी र विप्लव समूहले समेत प्रयोग गर्ने गर्दथे । प्रतिमिनेट ५ सय राउन्ड फायर गर्ने क्षमताको यो हतियारमा ३२ राउन्डको म्यागजिन लाग्ने गर्दछ । यसले दुई सय मिटरको दुरीमा असरदार क्षति गर्न सक्छ । यसलाई फोल्ड गर्न सकिने भएकाले झोलाभित्र यो सहजै राख्न मिल्छ । यसमा ९ एमएमको गोली लाग्ने गर्छ । यो हतियार जनयुद्धको क्रममा नेपाली सेनाको ब्यारेक आक्रमण गरी सबैभन्दा पहिले तत्कालीन माओवादीले लुटेका थिए । पछि शान्ति सम्झौता भएर हतियार संयुक्त राष्ट्र सङ्घलाई बुझाउने क्रममा समेत यो हतियार माओवादीले लुकाएका थिए । पछि तत्कालीन नेत्र विक्रम चन्दको (विप्लव समूह) को कार्यकर्ताहरूको हातमा यो हतियार देखिएको थियो । सुरक्षा निकायका अनुसार द्वन्द्वपछि प्रदेश १ मा स्वचालित हतियारको प्रयोग गरी भएको यो लुटपाटको प्रयास, पहिलो घटना हो ।
एसएमजी हतियार बोक्ने व्यक्ति सीसीटिभी क्यामेराबाट पाको उमेर भएको देखिएको छ । यसले ती व्यक्ति उक्त हतियार चलाउन अनुभवी भएको अनुमान गरिन्छ । झोलाबाट म्यागजिन झिकेर उनले हतियारमा ‘लोड’ गरेको देखिन्छ । तर ति लुटेराले हतियार भने ‘कक’ नगरी ज्वेलर्स सञ्चालकमाथि तेर्साएका थिए । यसले त्यो समूह हतियार देखाई डरको माहौलमा लुटपाट गर्ने योजनाका साथ आएको स्पष्ट हुन्छ । अन्य दुई जनाले भने पेस्तोल बोकेको देख्न सकिन्छ ।
लुटेराको खोजी जारी
शिव पाञ्चायन ज्वेलर्समा लुटपाट गर्न आउने तीन जना संलग्न भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले जानकारी दिएका छन् । उनीहरूको खोजी भइरहेको र यसमा जिल्ला, इलाका र प्रदेशको विशेष टिम परिचालित गरिएको अवस्था छ । प्रहरीले ज्वेलर्सको सीसीटिभी क्यामेरामा कैद भएको भिडियोको आधारमा तीनै जनाको पहिचान गर्ने कामसमेत सुरु गरेको छ । प्रहरीले यो घटनालाई ज्वेलर्स सञ्चालकको सावधानीले लुटपाट हुनबाट जोगिएको बताएको छ ।
‘हामी चाडै यी समूहलाई पक्राउ गर्छौ’ मोरङ एसपी जिसीले भने ‘यसमा संलग्नमध्ये दुई जना पाको उमेर भएका कारण उनीहरू तत्कालीन कुनै समूहसँग आबद्ध भएको हुन सक्ने हाम्रो अनुमान छ । सीसीटिभीको आधारबाट उनीहरूको पहिचान गर्ने काम सँगसँगै उनीहरूको खोजी भइरहेको उनले बताए । विगतमा भएका लुटपाटको घटनामा संलग्न अपराधीहरूको समेत पहिचान भइरहेको बताइएको छ ।
सेनाको चासो
नेपाली सेनाले समेत प्रयोग गर्ने एसएमजी हतियार यो लुटपाटको प्रयासमा प्रयोग भएको विषयमा नेपाली सेनाले समेत चासो व्यक्त गरेको छ । सेनाले आन्तरिक रूपमा घटनाको छानबिन थालेको सैनिक स्रोतले बताएको छ । लुटपाट गर्न आएका व्यक्तिहरूले बोकेका हतियार कहाँबाट आयो भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको बताइएको छ ।