धरानः सुनसरीको धरानमा सर्दु खोलाबाट निर्माण हुने भनिएको करिडोर प्रोजेक्टको नाम हराएपछि बस्ति जोगाउन स्थानीय सरकार लागिपरेको छ ।
भारी वर्षाका कारण हुने जोखिम न्यूनीकरण गर्न धरान उपमहानगरपालिका वडा न ११ र १६ का स्थानीय सरकार कम्मर कसेर लागिपरेका छन् । केन्द्रीय सरकारको पहलमा करिडोर निर्माण हुने कुराले धरान निकै आलोचनाको विषय बनेको थियो । करिब एक हजार पाँच सय घर विस्थापित हुने कुराले स्थानीयहरु पनि आतंकित भएका थिए । निकै लामो विवादपछि स्थानीयवासीको हितमा करिडोरको विषयले विश्राम लिएलगत्तै स्थानीय सरकार बस्ति जोगाउन लागिपरेको हो । ११ नम्बर वडाका वडाध्यक्ष बाबुलाल लामाको पहलमा जम्मा ८० थान तारजाली जलस्रोत तथा सिचाइँ विभाग डिभिजन इनरुवाबाट विभिन्न ठाउँमा उपलब्ध गराइएको छ ।
धरान ११ को सगरमाथा खेल मैदाननजिक सर्दु खोलाबाट हुने जोखिमलाई मध्यनजर गर्दै ४० थान तारजाली उपलब्ध गराएको वडाध्यक्ष लामाले जानकारी दिए । त्यहा बस्तिनजिकै भएका कारण बस्तिको समेत संरक्षण गर्न आफू लागिपरेको वडाध्यक्ष लामाले बताए । जोखिम वा आपतको बेला सगरमाथा खेल मैदानलाई उपयोग गर्न सकिने भन्दै सो मैदानको संरक्षण गरिरहेको समेत लामाले बताए । त्यसैगरी, सुनौलो बस्ति र सुन्दर बस्ति पनि अति जोखिमयुक्त ठाउँ रहेको भन्दै त्यहाँ पनि ४० थान तारजाली उपलब्ध गराएको अध्यक्ष लामाले जानकारी दिए । निर्वाचन पनि नजिक रहेको महसुस गर्दै नेपाली कांङ्ग्रेसका विभिन्न नेताकार्यकर्ताहरु तारजाली बाँड्दै भोट माग्नसमेत व्यस्त रहेका छन् । धरानको सर्दु खोलाले छुने बस्तिहरु निकै बाक्लो रहेको छ । विशेषगरी सुकुम्बासी बस्ति रहेको ठाउँहरु वर्षाका कारण निकै जोखिममा पर्ने गरेको छ । करिडोर निर्माणको विषयलाई लिएर निकै आलोचना भएको सर्दु खोलामा स्थानीय सरकारले निभाएको अभिभावकको जिम्मेवारीदेखि सबै स्थानीय खुसी हुँदै श्रमदान गर्नसमेत लागिपरेका छन् ।