इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका १० स्थित पिपल्स हेल्थ मल्टिपल क्याम्पसमा उद्योग वाणिज्य संघद्वारा सञ्चालित आइसोलेसन सेन्टरमा सहयोगीका रुपमा कार्यरत एक युवकले सेनिटाइजर सेवन गरी आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा इटहरी ८, पुष्पलाल चौक घर भएका ३२ वर्षीय प्रकाश भण्डारी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक गणेश भट्टराईका अनुसार शुक्रबार राति ८ः३० बजे आइसोलेसन सेन्टरमै उनले सेनिटाइजर पिएका थिए । सेनिटाइजर पिएर बिरामी भएका उनलाई उपचारार्थ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा राति ९ः३० बजे उनको ज्यान गएको हो ।
मृतक भण्डारी मदिराको कुलतमा फसेकोमा परिवारजनले उनलाई आइसोलेसन सेन्टरमा काम दिलाइदिएको प्रहरीको भनाइ छ । उनले सेवन गरेको सेनिटाइजरको ब्राण्ड पहिचान हुन नसकेको बताउँदै प्रहरीले मुचुल्का संकलनका लागि पुगेको टोली फिर्ता आएपछि विस्तृत अनुसन्धान प्रकृया अगाडि बढाइने जनाएको छ ।