ओखलढुङ्गाः ओखलढुङ्गामा एक सुत्केरी महिलाको उपचार अभावमा ज्यान गएको छ ।
मृत्यु हुनेमा मोलुङ गाउँपालिका ७ पात्ले, बाख्रेकी वर्ष ३२ वर्षीया सुनिता लामिछाने रहेको सो वडाका वडाध्यक्ष हेम सुनुवारले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान ८ बजे सामान्य अवस्थामा घरमै सुत्केरी भएकी लामिछानेलाई उच्च रक्तश्राव भएपछि उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । नियमित गर्भ जाँच गराइरहेकी लामिछानेको बच्चा जन्मिने मिति साउन २२ गते निर्धारित रहेको भएपनि असार ३१ गते प्रसव पीडा सुरु भई घरमै सुत्केरी भएकी थिइन् ।
सुत्केरी भएपश्चात् अत्याधिक रक्तस्राव भएपछि छिमेकीको सहयोगमा उनलाई स्थानीय स्वास्थ्य चौकीमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि ओखलढुङ्गा सामुदायिक अस्पताल लैजाने क्रममा बाटैमा उनको ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । सामान्य अवस्थामा रहेका नवजात शिशुलाई छिमेकीले संरक्षण गरिरहेको वडाध्यक्ष सुनुवारले जानकारी दिए ।