इटहरीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १५ गतेभित्र कम्तिमा ३२ लाख डोज कोरोना विरुद्धको खोप नेपाल भित्र्याउने भएको छ ।
चीन सरकारसँग खरिद गरिएका ४० लाख डोजमध्ये आठ लाख डोज ल्याइसकिएको र बाँकी ३२ लाख साउन १५ गतेसम्म आइपुग्ने मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार चीनबाट साउन ६ गतेदेखि खोप आउन सुरु हुनेछ । ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुका लागि खोपको प्रबन्ध गरिसकिएको बताउँदै उनले केही दिनभित्रै खोप वितरण सुरु गरिने जानकारी दिए ।
३२ लाख डोज खोप आइसकेपछि पनि खोप आउने क्रम निरन्तर रुपमा चलिरहने प्रवक्ता अधिकारीले प्रष्ट पारे । मन्त्रालयका तर्फबाट जारी विज्ञप्तिमा संयमतापूर्वक पालो पर्खिएर खोप लगाउन आग्रह गरिएको छ ।