इटहरीः झापाको भद्रपुर नगरपालिका–१ सगरमाथा चोकमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा मे १ ह ६४१९ नम्बरको टेम्पो मा सवार भद्रपुर–१ की ३८ वर्षीया छविमाया लिम्बू र ४० वर्षीय डम्बरबहादुर लिम्बू रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार मृतकमध्ये छविमायाको घटनास्थलमै ज्यान गएको हो भने डम्बरबहादुरको ओमसाई पाथीभरा अस्पतालमा उपचारका क्रममा अपराहन्न ४ः०० बजे ज्यान गएको हो । सोही दुर्घटनामा परी टेम्पो र ट्याक्टर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
टेम्पो चालक ४३ वर्षीय वीरबहादुर लिम्बू र ३२ वर्षीय नरबहादुर लिम्बू घाइते भएकोमा उनीहरुको सोही अस्पतालमा उपचार जारी रहेको छ । दक्षिणबाट उत्तरतर्फ गइरहेको मे १ ह ६४१९ नम्बरको टेम्पो विपरीत दिशातर्फ जाँदै गरेको मे १ त २८२१ नम्बरको ट्याक्टरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटना गराउने ट्याक्टर र त्यसका चालक झापाको कचनकवल गाउँपालिका–३ का ३२ वर्षीय सारगसिंह राजवंशीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।