इटहरीः मोरङको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् ।
असार २० गतेदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै आएका उनीहरुले तालाबन्दी यथावत राख्दै पाँच दिनयता क्याम्पस परिसरमा धर्नासमेत दिन सुरु गरेका छन् । क्याम्पसमा हाल कार्यरत ८३ जना आंशिक प्राध्यापकहरुलाई नै कक्षाभारका आधारमा करारमा नियुक्ति दिनुपर्ने, आन्तरिक करार सङ्ख्या र आधार सार्वजनिक गर्नुपर्ने र हालै माग गरिएको आंशिक प्राध्यापकको विज्ञापन खारेज गर्नुपर्ने माग राखी उनीहरुले धर्ना सुरु गरेका हुन् । आफूहरुको माग पूरा नभएसम्म धर्ना जारी नै रहने आंशिक प्राध्यापक सङ्घ, महेन्द्र मोरङ क्याम्पस एकाइ अध्यक्ष भविष्य मिश्रले जानकारी दिए । आंशिक प्राध्यापकहरुको आन्दोलनकै कारण कोरोना महामारीपछि भर्खरै सुरु भएको स्नातक तहको अनलाइन कक्षासमेत अवरुद्ध हुन पुगेको छ । देशव्यापी रुपमा भइरहेको आन्दोलनको असर महेन्द्र मोरङमा पनि परेको हो । आफ्ना माग सम्बोधन हुनासाथ पठनपाठन सुचारु गर्न तयार रहेको आन्दोलनरत पक्षको भनाइ छ ।
उता, क्याम्पस प्रमुख डा.बाबुराम तिम्सिनाले भने समस्या समाधानका लागि आफू प्रयत्नरत रहेको बताएका छन् । आंशिक प्राध्यापकहरुका अन्य सबै माग उचित भएको भएपनि खुलाइएको विज्ञान खारेज गर्ने माग भने व्यवहारिक नभएको उनको भनाइ छ । क्याम्पसले नयाँ कार्यक्रमहरु सुरु गर्न लागेकोमा त्यस्ता विषय अध्यापन गर्न सक्ने जनशक्ति हाल उपलब्ध नभएकाले विज्ञापन खुलाई पदपूर्ति गर्नु परेको उनले प्रष्ट पारे । क्याम्पसले पठाउनुपर्ने आंशिक प्राध्यापकसम्बन्धी प्रतिवेदन केन्द्रमा बुझाइसकिएको तिम्सिनाको भनाइ छ ।
प्रजातन्त्रवादी प्राध्यापक संघले माग जायज भएपनि कक्षा रोक्ने आन्दोलन भने जायज नभएको भन्दै आन्दोलनरत पक्षलाई साङ्केतिक आन्दोलन गर्न आग्रह गरेको छ । संघको महेन्द्र मोरङ एकाइ अध्यक्ष सीताराम चौलागाईँले प्राध्यापकहरुले नै पठनपाठनमा अवरोध गर्दा गलत नजीर स्थापित हुने बताए । यसैगरी, नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका महेन्द्र मोरङ क्याम्पस एकाइ सभापति जसवन्त पौडेलले वार्ताका माध्यमबाट निकास निकाल्नुपर्ने बताउँदै प्राध्यापकले पठनपाठन अवरुद्ध गर्नु अशोभनीय हुने बताए ।