झापाः कृषिलाई व्यवसायीकरण र सुपारी खेतीको प्रवद्र्धन गर्ने उद्देश्यले झापामा घोषणा गरिएको ‘सुपारी जोन’ कार्यक्रममार्फत किसानलाई राहत मिलेको छ ।
प्रधानमन्त्री आधुनिकिकरण परियोजना इकाई भद्रपुर अन्तरगत स्थापना भएको सुपारी जोन कार्यक्रम मेचीनगर, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकालाई समेटर लागू गरिएको परियोजनाका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताए । सुपारी खेतीलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको सुपारी जोनलाई चालू आर्थिक बर्ष २०७७÷०७८ मा रु. २० लाख बजेट विनियोजन भएको थियो । सो बजेटबाट किसानले उत्पादन गरेको काँचो सुपारी तथा प्रशोधन गरिएको सुपारी राख्नका लागि कृषक समूह तथा सहकारीको १५ प्रतिशत र परियोजनाको ८५ प्रतिशत अनुदान रकममा पाँच वटा गोदाम घर बनाइएको छ । श्री कालिका बहुउद्देश्यीय सहकारी संस्था लि अर्जुनधारा–९ मा परियोजनाको रु. तीन लाख ५० हजार र सहकारीको रु. १ लाख ६ हजार ७८३ गरी कूल रु. पाँच लाख १३ हजार ७८३ मा गोदाम घर बनाएको छ ।
गोदाम घरमा किसानले उत्पादन गरेको १७ मेट्रिक टनका दरले सुपारी सुरक्षित भण्डारण गर्न मिल्ने गरी अन्य चार स्थानमा समेत बनाइएको बरिष्ठ कृषि अधिकृत सुवेदीले बताए । यसअघि किसानले उत्पादन गरेको सुपारी भाडाका घरमा राख्नुपर्ने बाध्यता थियो । किसानले उत्पादन गरेको काँचो सुपारी र प्रशोधन गरेपछि भण्डारण गरिने व्यवस्थित गोदामले किसानलाई थप राहत मिलेको उनीहरुको भनाई छ । गत आर्थिक बर्ष सुपारी जोनका लागि भनेर सरकारले रु. ४५ लाख बजेट विनियोजन गरेको थियो । जोनले सूचना जारी गरेर अनुदानका लागि किसानलाई आह्वान गरे पनि कोडिभ १९ का कारण निवेदन नपर्दा आधाभन्दा बढी रकम फिर्ता गएको उनले बताए । जिल्लामा सुपारीको व्यावसायिक खेतीबाट २० हजारबढी कृषक लाभान्वित भएको सुपारी जोन सञ्चालक समिति झापाका अध्यक्ष निलकण्ठ तिवारीले बताए । जिल्लामा दुई हजार ६८५ हेक्टर जमिनमा सुपारी खेती हुँदै आएको छ ।
मुलकभरमै सुपारीको व्यवसायिक खेती गर्ने पहिलो जिल्ला झापा नै भएको उहाँको दाबी छ । तर परियोजनाले अर्जुनधारा नगरपालिकाका सबै वडा र बुद्धशान्ति गाउँपालिकाको १,२,३,४,५ नम्बरको ७८८ हेक्टर जमिनमा जोन विकास कार्यक्रम लागू गरेको छ । “सुपारी खेती गर्दै आएका किसानलाई नयाँ प्रविधि, सिँचाई, मल र प्रशोधनको समस्या छ”, उनले भने “जोनमार्फत त्यो पूरा हुन्छ होला भन्ने आशा थियो तर बजेट पर्याप्त नहुँदा परिणाम उस्तै छ ।” उहाँले सुपारी अन्य बालीको तुलनामा खेती गर्न सजिलो, धेरै आम्दानी हुने, सुपारीभित्रै अन्य वाली समेत लगाउन मिल्ने हुँदा किसानको अझै पनि आकर्षण बढिरहेको बताए । अध्यक्ष तिवारीले घरको सौन्दर्य बढाउन दुई चार बोट सुपारी रोप्नेदेखि पाँच विगाह भन्दा बढीमा व्यवसायिक खेती गर्ने किसानहरु रहेको बताए ।
जिल्लामा बार्षिक रुपमा नौ हजार ७७२ मेट्रिक टन प्रशोधित सुपारी उत्पादन हुँदै आएको छ । उनले जोनलाई प्रभावकारी बनाउन परियोजनाले किसानलाई सिंचाईको व्यवस्थासँगै सीप र ज्ञान बढाउन दक्ष प्रशिक्षकहरुबाट प्रशिक्षित गर्नुपर्ने, र पर्याप्त बजेटको व्यवस्था गरी अनुदान बढाएर किसानमा उत्साह थप्न अझै आवश्यक रहेको बताए । खेतीको क्षेत्र विस्तार नगर्ने हो भने मुलुकमा उत्पादित सुपारीले मात्र यहाँको माग धान्न नसक्ने उनको भनाई छ । अध्यक्ष तिवारीले माग धान्नका लागि अन्य मुलुकबाट १५ हजार मेट्रिक टन सुपारी आयत गर्दा पुग्ने अवस्थामा व्यापारीहरुले विभिन्न बहाना बनाएर बार्षिक एक लाख २७ हजार मेट्रिक टन सिंगापुरे सुपारी नेपाल आयत हुने गरेको जानकारी दिए । जुन सुपारी उनीहरुले भारततर्फ निर्यात गर्ने गरेका छन् । -रासस