इटहरीः सुनसरीको धरान उपमहानगरपालिकाका पूर्वमेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस आज मनाइएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा धरानको मेयरका रुपमा निर्वाचित भई २०७५ साल साउन १ गते निमोनियाका कारण दिवंगत भएका सुब्बाको सम्झनामा उनी आबद्ध रहेको नेकपा एमालेको धरान नगर कमिटिले विगत वर्षझैँ यस वर्ष पनि सुब्बाको स्मृति दिवस मनाएको हो । स्मृति दिवसका अवसरमा पार्टीको केपी शर्मा ओली तथा माधव नेपाल झलनाथ खनाल दुवै खेमाका नेता कार्यकर्ताहरुको उपस्थितिका बीच हरियाली सामुदायिक वन परिसरमा रहेको सुब्बाको सालिकमा माल्यार्पण गरिएको हो ।
केन्द्रीय नेताहरुबीच भएको १० बुँदे सहमतिले पार्टी एकताको आधार तय गरेकाले एकताको सन्देश दिने उद्देश्यले एकै ठाउँमा भेला भएर स्मृति दिवस मनाइएको एमालेका धरान नगर कमिटि अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । स्मृति समारोहमा उपस्थित ओली पक्षीय नेता रमेश बस्नेतले संयुक्त रुपमा मनाइएको स्मृति दिवसले पार्टी एकताको सन्देश प्रवाह भएको मन्तव्य दिएका थिए भने माधव झलनाथ पक्षका नेता विजय राईले जीवन्त पार्टीमा वैचारिक अन्तरसंघर्ष स्वभाविक रहेको भन्दै विभाजित हुन नहुने धारणा राखे । उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले दिवंगत नेता तथा पूर्वमेयर सुब्बाको योगदानमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रम प्रदेश १ का प्रदेशसभा सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।