इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका १० स्थित त्रिवेणी चौकमा रहेको पञ्चायन ज्वेलर्समा नकावधारी समूहले लुटपाटको प्रयास गरेको छ ।

खगेन्द्र थापाद्वारा सञ्चालित ज्वेलर्समा मोटरसाइकलमा आएका चार जना नकावधारी लुटेराहरुको समूहले दिउँसो २ः०० बजे लुटपाटको प्रयास गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार लुटपाटको उद्देश्यले पसलमा प्रवेश गरेको समूहले पेस्तोल देखाएर लुटपाटको प्रयास गरेपनि परिवारका सदस्यले प्रतिकार गर्दै होहल्ला गरेपछि लुटेरा समूह फरार भएको थियो ।

घटनाबाट कुनैपनि क्षति नभएको जनाउँदै एसपी राईले घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले घटनाको अनुसन्धान सुरु गरेको जानकारी दिए ।