इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्याप्त भ्रष्टाचार र अनियमितता नियन्त्रणको माग राख्दै पछिल्लो एक महिनादेखि आन्दोलनरत चिकित्सक तथा विद्यार्थीको माग सम्बोधनका लागि उच्चस्तरीय छानबिन टोली गठन भएको छ ।
बीपी प्रतिष्ठन सुधार संघर्ष समितिले प्रधानमन्त्री तहबाट सचिवस्तरीय छानबिन समिति गठन हुनुपर्ने भनी गर्दै आएको माग बमोजिम प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा आठ सदस्यीय समिति गठन भएको हो । हिजो गठित सो छानबिन समितिलाई १५ दिनभित्र निष्पक्ष छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । यद्यपि, संघर्ष समितिले भने समिति गठन भएकोबारे आफूहरुलाई औपचारिक जानकारी नभएको प्रतिकृया दिएको छ । संघर्ष समितिका सहसंयोजक विष्णु पौडेलले समिति गठनबारे हल्ला सुनेको भएपनि औपचारिक जानकारी हालसम्म समितिलाई नभएको बताए । प्रतिष्ठानको अवस्था जर्जर बनाउने मुख्य पदाधिकारीहरु उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकहरुले पदमा बसिरहने नैतिक आधार गुमाएकाले उनीहरुले तत्काल राजीनामा दिनुपर्ने भनी आफूहरुले यसअघि नै पटक पटक ध्यानाकर्षण गराइसकेकाले कुलपतिको हैसियतमा हस्तक्षेपकारी भूमिका खेल्न संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।
उपकुलपति गिरीको आह्वानमा गत असार १५ गते संघर्ष समिति वार्तामा बसेको थियो । वार्तामा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा.गिरीसँगै रेक्टर डा.गुरुप्रसाद खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी, अस्पतालका डेपुटी उपनिर्देशक डा.दिव्यराज मिश्र, सहायक अस्पताल निर्देशक डा.प्रमोद बराल सहभागी भएका थिए । आफैँले आह्वान गरेको वार्तामा उपकुलपति डा.गिरी मदिरा सेवन गरेर आएपछि संघर्ष समितिले वार्ता अस्वीकार गरेको थियो । संघर्ष समितिले प्रतिष्ठानको भ्रष्टाचार तथा अनियमितता छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने, सो आयोगमा संघर्ष समितिका प्रतिनिधिसहित शिक्षा, अर्थ, स्वास्थ्यजस्ता सरोकारवाला मन्त्रालयका प्रतिनिधि तथा प्रतिष्ठानका पूर्व पदाधिकारीलाई संलग्न गराउनुपर्ने, पदाधिकारीहरुसँग प्रत्येक ६ महिनामा प्रतिज्ञापत्र गराई सो अनुरुप कार्यसम्पादन गर्न नसके कारबाही गर्नुपर्ने, उपकुलपति डा.गिरीको प्राध्यापक उपाधिबारे प्रष्ट पार्नुपर्नेलगायतका मागहरु अघि सारेको छ ।
यसैबीच, प्रतिष्ठानभित्र विभिन्न अनियमितताको आरोप लागेका प्रतिष्ठानका उपकुलपति डा. गिरीले पनि संघर्ष समितिलाई वार्तामा आउन आह्वान गरेका छन् । संघर्ष समितिले उठाएका १२ बुँदे मागप्रति आधिकारिक सँस्थागत धारणा सार्वजनिक गर्दै उनले भनेका छन्, ,‘आउनुहोस, छलफलमा बसौँ । शुद्धीकरण अभियान मेरो पनि हो, तपाईं हामी एकजुट भएर प्रतिष्ठानलाई दक्षिण एसियाकै नमुना प्रतिष्ठानका रूपमा विकास गर्ने अभियानमा समाहित हौँ ।’