इटहरीः सामान्यताय कोरोना खोप दुई चरणमा लगाइन्छ । एउटा खोप लगाएको निश्चित अन्तरालमा दोश्रो खोप लगाउनुपर्ने हुन्छ । सोही कारण खोप कार्डमा लगाएको खोप लगाउने व्यक्तिको सामान्य व्यक्तिगत विवरणसँगै कुन चरणको खोप कहिले लगाएको हो भनेर उल्लेख गरिन्छ ।
तर, सुनसरीको रामधुनी नगरपालिकाले विभिन्न समयमा सञ्चालन गरको खोप कार्यक्रममा खोप लगाएकाहरुको खोप कार्डमा खोप लगाएको मिति नै उल्लेख गरिएको छैन । बिहीबार नगरका युवाहरुले खोपमा मनोमानी भएको भन्दै नगरको ध्यानाकर्षण गर्न गएका थिए । सोही समयमा कतिले खोप लगाए भनेर खोप कार्ड हेर्दा कतिपय कार्डमा मिति नै नभेटिएको हो । नगरका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेको कार्यकक्षमा खोप कार्डको ब्याग खोलेर हेर्दा यस्तो दुर्दशा पाइएको हो । युवाहरुले किन यस्तो भयो भनेर प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जनशक्ति कम भएकाले नभ्याएको भन्दै गैरजिम्मेवारीपूर्ण जवाफ दिएका छन् ।
आफन्त र नातागोतालाई खोप दिएकाले मिति नै उल्लेख गर्न भूलेको नगरवासीको आरोप छ । नगरको स्वास्थ्य शाखाका एक कर्मचारीका अनुसार ‘४०० रुपैयाँ दिएको छ यतिले के के गर्नु’ भनेर खोप कार्यक्रममा खटिने कर्मचारीले भनेका थिए । यस्तै, नगरमा कतिले खोप लगाए भनेर यकिन तथ्याङ्गक राख्न नसकेको नगरले खोपमा चरम मनोमानी गरेको हुन सक्ने नगरवासीको आशंका छ । पहिलो चरणमा अन्यत्र खोप लगाएर आएकाले पहुँचको भरमा दोश्रो चरणो खोप लगाएका कारण पनि खोप कार्डमा मिति उल्लेख नगरेको नगरपालिकालाई आरोप लागेको छ । यस्तै, दोश्रो चरणमा खोप लगाउन आउँदा कार्ड नलिई आउनेलाई खोप दिँदा पनि कार्डमा मिति उल्लेख गरिएको छैन ।