इटहरीः आज साउन १ गते, नेपालमा नयाँ आर्थिक वर्ष २०७८र७९ सुरु भएको छ । आजबाट गत जेठ १५ गते संघीय संसदमा प्रस्तुत भएको बजेट कार्यान्वयनमा आएको छ ।

यस वर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता मासिक दुई हजारबाट बढाएर चार हजार पुर्याइएको छ । सबैखाले सामाजिक सुरक्षा भत्तामा ३३% ले वृद्धि गरिएको छ । अतिअशक्त अपांगता भएका व्यक्तिहरुले जम्मा दुई हजार एक सय २८ रुपैयाँ पाउने भएका छन् भने पूर्ण अपांगता भएकाले चार हजार रुपैयाँ पाउनेछन् । बालबालिकालाई रंगीन पाठ्यपुस्तक र छात्रालाई स्यानिटरी प्याड निःशुल्क वितरण गरिनेछ भने ५ कक्षा सम्मका बालबालिकाहरूका लागि दिवा खाजाको व्यवस्था सरकारले नै गर्नेछ । १० लाख रुपैयाँको सामूहिक दुर्घटना बिमा र एक लाखको स्वास्थ्य बिमाका साथै पर्यटन प्रवर्द्धनका लागि १० दिनको अतिरिक्त पारिश्रमिक दिने व्यवस्था बजेटमा गरिएको छ ।

यसैगरी, निजामति, शिक्षक, प्रहरी, सेना लगायतका कर्मचारीको तलबमा यो महिनादेखि दुई हजार रुपैयाँ वृद्धि हुनेछ । यसअघि कायम रहेको मासिक दुई हजार रुपैयाँ भत्तासमेत यथावत रहनेछ । दुई वर्षयता कर्मचारीको तलब सुविधमा कुनै वृद्धि नगरेको सरकारले यस वर्ष भने सबै तहका कर्मचारीको समान दुई हजार रुपैयाँ तलब बढाएको हो । यस आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएका थिए ।