इटहरीः काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ ।
अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । उनलाई बढुवा गरी सञ्चालक समितिको अध्यक्ष बनाइएको हो । अध्यक्षमा नियुक्त सिंह विगत एक दशकभन्दा लामो समयदेखि नर्भिकमा आबद्ध छन् । उनी नर्भिकमा आउनुअघि नेपाल प्रहरीको एआइजीबाट अवकाशप्राप्त व्यक्ति हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अमेरिकाको भर्जिनियास्थित एफबीआई अकाडेमीबाट ग्राजुएसन, क्रिमिनल जस्टिस एण्ड पोलिस म्यानेजमेन्ट विषयमा यूकेबाट पोस्ट ग्राजुएट सर्टिफिकेट लेभलको अध्ययन पूरा गरेका छन् ।
यसैगरी, नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा नियुक्त अजय मिश्र कुशल बैंकर तथा व्यवस्थापकको परिचय बनाएका व्यक्ति हुन् । उनी एक कुशल विश्लेषक तथा बैंकहरुको मर्जर विज्ञसमेत हुन् । उनी यसअघि यूनाइटेड फाइनान्सको सीइओको रुपमा कार्यरत थिए । यूनाइटेड फाइनान्सलाई नवील बैंकमा सफल रुपमा मर्ज गराएर एकीकृत कारोबारसँगै उनले करिअरको १६ वर्ष समय बिताएको बैंकिङ सेक्टरबाट अवकाशको घोषणा गरेका थिए । मिश्रसँग गोर्खा फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, जनता बैंक लगायतका आधा दर्जन वित्तीय संस्थामा काम गरेको अनुभव छ । बैंकिङमा आउनुअघि मिश्रले नेपाल सरकार, यूएनडिपी, प्लान इन्टरनेशनल, नेपाल टेलिभिजन लगायतमा काम गरेका थिए । यी संस्थाहरुमा उनको नन्बैंकिङ करिअरको १६ वर्ष व्यतीत भएको थियो । मिश्रले काठमाडौँ युनिभरसिटीबाट विजिनेश एडमिनिस्ट्रेसनमा एमफिल सम्मको अध्ययन पूरा गरेका छन् । नर्भिक अस्पतालको नेतृत्व परिवर्तन भए पनि मुख्य लगानी भने बिएलसी होल्डिङ्सकै कायम रहनेछ ।