धरानः धरान वडा नं. १७ स्थित अजम्बर मार्गदेखि बेलगाछि लाइनसम्मको सडक कालोपत्रे भएको छ ।
सडक उपभोक्ता समितिका सचिव उमेश राईका अनुसार करिब ४ सय ५० मिटर सडकको कालोपत्रे सम्पन्न भएको हो । बिहीबार धरान उपमहानगरका मेयर तिलक राई र वडा नं. १७ का वडाध्यक्ष मनोज भट्टराईले संयूक्त रुपमा कालोपत्रे सडकको उद्घाटन गरेका छन् । उक्त सडकमा ४८ लाख ३५ हजार ३ सय ७४ रुपैयाँको लागतमा कालोपत्रे गर्ने कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका सचिव राईले जानकारी दिए । मेयर कोष, उपमहानगरपालिका, १७ नं. वडा कार्यालय र स्थानीय उपभोक्ताबाट बजेट संकलन गरेर उक्त सडकको कालोपत्रे निर्माण सम्पन्न गरिएको हो । उपभोक्ता समितिका सचिव राईका अनुसार सडक आसपासमा रहेका विद्युत्को ट्रान्सफर्मर सार्ने, विद्युत्को पोल फेर्नुका साथै स्थानीयले खानेपानीको पाइपलाइन पनि पैसा उठाएर सारेका छन् ।
मेयर राईले धरान उपमहानगरपालिकाले लागत साझेदारीमा निर्माण गरेको बाटोहरु धेरै संख्यामा पुगिसकेको बताए । बाटोको विषयमा छलफल पनि भइरहेको छ । उपभोक्ताहरु आफैँ ठेकेदार हुने, कमसल र गुणस्तरहीन बनाउने गलत प्रवृत्तिको विकास भइरहेको मेयर राईले बताए । मेयर राईले भने, ‘उपभोक्ताबीचमै पदाधिकारीहरु ठेकेदारको रुपमा रहेर आफ्नो निर्माणलाई सम्झौता गर्ने, गुणस्तरहीन सामग्री प्रयोग गर्ने प्रवृति बढेको छ ।’ यस्तो प्रवृतिले गर्दा राज्य र जनताले नोक्सान व्यहोर्नु परेको मेयर राईको भनाइ थियो ।
उपभोक्ताबाट काम गर्ने कि नगर्ने भनेर उपमहानगरपालिकामा छलफल चलिरहेको छ । पछिल्लो समय धरानमा उपभोक्ताहरु ठेकेदारको रुपमा परिणत भइरहेको बताउँदै मेयर राईले यसले उपमहानगरपालिकाको लागत साझेदारीको काममा असर गरिरहेको धारणा व्यक्त गरे । मेयर राईले अजम्बर मार्ग र बेलगाछि लाईनमा अत्यन्तै राम्रो काम भएको भन्दै उपभोक्ता समितिको प्रशंसा गरे । ‘यहाँको उपभोक्ता समितिले अत्यन्तै राम्रो काम गरेको छ, धरानको साख जोगाएको छ’ मेयर राईले भने ।