धरानः धरान उपमहानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ सुनसरीले आयोजना गरेको लेखनवृत्ति कार्यक्रमअन्तर्गत धरानका सञ्चारकर्मीहरुलाई रकम वितरण गरिएको छ । आज पत्रकार महासंघ सुनसरीको सभाहलमा पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको अध्यक्षता र धरान उपमहानगरपालिककी उपमेयर मन्जु भण्डारी सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रकम वितरण गरिएको हो । उपमहानगरपालिकाको एक लाख ५० हजार रुपैयाँ अनुदानबाट बिभिन्न विषयमा लेखेका २० जना सञ्चारकर्मीहरुलाई रु. ४ हजारको दरले रकम वितरण गरिएको हो । धरानका विकास , पर्यटन , खेलकुद कला संस्कृतिसङ्गै विभिन्न विषयमा लेखिएको लेखनमा महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार हर्ष सुब्बा, पूर्वअध्यक्षद्वय आनन्द श्रेष्ठ र राजेश विद्रोहीले लेखनमा सहजीकरण गरेका थिए ।

धरानबाट सुरु भएको लेखनवृत्ति अहिलेसम्म देशभरका नगरहरुले सुरु गरेको सम्पाद हर्ष सुब्बाले बताए । उनले धराने पत्रकारितामा अहिलेको पुस्ताले पुरानालाई चुनोैति दिएको बताए । नयाँ पुस्ताको लेखनमा अलि सुधार हुनपर्ने देखिएको छ । नयाँहरुलाइ प्रोत्साहन गर्नुपर्छ भन्दै अलि गम्भीर लेखनका लागि गम्भीर विषय लिएर, समय निकालेर लेख्न सक्नेलाई लेखनवृत्ति दिनुपर्नेमा उनले जोड दिए । फिचर लेखनहरु अलि सुधार गर्नुपर्ने, फर्म्याटमा नगएको, लेख्नुभन्दा अघि अनुशिक्षण गर्नुपर्ने आबश्यकतासमेत उनले औँल्याए ।

धरान पत्रकारिता क्षेत्रको जननी, पत्रकारिताको पढाइ हुने ठाउँ धरान भएकाले, स्थानीय पत्रकारहरुलाई सकृय बनाउन, स्थापित गराउनकै लागि नगरले यस्ता कार्यक्रम गरेको प्रमुख अतिथि मन्जु भण्डारी सुवेदीले बताइन् । श्रमजीवी पत्रकारहरुका लागि केही सहयोग पुगोस् र लेखनमा हौसला मिलोस भन्ने हेतुले महासंघसँग सहकार्य गरिएको उनको दाबी छ । लेखनवृत्ति सजिलो छैन, त्यसैले समय लिएर महासंघले यस विषयमा समयमै योजना तयार गर्न र अहिलेसम्म लेखेका विषयहरुका लेखनलाई रेकर्ड बनाएर राख्न उनले सुझावसमेत दिइन् । एक सँस्थागत विषय बनाएर अघि बढौँ, यहाँ धरानमै बसेर लेख्नेले राष्ट्रियस्तरका पत्रकारहरुजस्तै राम्रो लेख्न सामथ्र्य राख्ने भएकाले अबको लेखनमा धरानलाई आर्थिक रुपमा मजबुत बनाउने स्रोत वृद्धि गर्ने, आन्तरिक स्रोतका क्षेत्रहरूबारे अध्यन अनुसन्धान गर्ने, नगर कसरी अगाडि बढिरहेको छ,? जस्ता विषयहरु समेटेर फिचर लेख्न उनले आग्रह गरिन् ।

कार्यक्रमका सभापति तथा महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले अनुदान रकम दिएर सहयोग गर्ने धरान उपमहानगरपालिका र सहयोगी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा सहकार्य गरेर पत्रकारहरुकै हकहितमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
महासंघका उपाध्यक्ष गणेश निरौलाले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राई, पूर्वअध्यक्ष आनन्द श्रेष्ठ, पत्रकार प्रदीप चौधरी र लेखनवृत्ति लेखकका तर्फबाट सविना बान्तवाले आफ्ना विचारहरु राखेका थिए ।