इटहरीः सुनसरीको रामधुनी नगरपालिकामा विभिन्न उमेर समुहका लागि आएका कोरोना भाइरस विरुद्धको खोपमा चरम अनियमितता भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नै जेष्ठ नगरिकलाई भनेर पठाइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोपमा अनियमितता भएको पाइएको हो । नगरपालिकामा एक महिनाअगाडि लगाइएको पहिलो चरणको खोप र एक सातापहिला लगाइएको दोश्रो चरणको खोपमा मनोमानी भएको पाइएको हो । सरकारले निर्धारण गरेको प्राथमिकतामा यो खोप ६२ वर्षदेखि ६५ वर्ष उमेर समुहका लागि छुट्याइएको थियो । तर, यस नगरपालिकामा भने त्यही चरणको खोप अन्य उमेर समुहकाले लाएको पाइएको छ । यति मात्र होइन, नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका आफन्त र नजिककाले यो खोप लगाएको पाइएको हो । नगरपालिकाले यसरी खोप प्रदान गर्न थालेपछि सोही उमेर समुहका कतिपय नागरिकले भने खोप नै पाउन सकेका छैनन् । यसरी गलत समुहलाई खोप प्रदान गरेपछि विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरुले नगपालिका नै पुगेर यस विषयमा सोधपुछ गरेका थिए ।

ramdhuni bibad

‘चैतको पहिलो हप्ता मैले कोभिसिल्ल खोप लगाएको थिएँ’, रामधुनी नगरपालिका १ नम्बर वडाका जेष्ठ नागरिक झनक कार्कीले भने, ‘त्यसको दुई हप्तापछि दोस्रो खोप आउँछ भनेका थियो । तर, अहिलेसम्म पाएको छैन । सुन्दै छु २०÷२१ वर्ष, ३५÷३६ वर्षकाहरुले लगाए रे !’ निश्चित उमेर समुहका लागि आएको खोपका विषयमा चरम अनियमितता हुँदा पनि नगरले केही नगरेकोमा आपत्ति जनाउँदै उनले नगरको बैठकमा यो विषयले प्रवेश पाउनुपर्ने बताए । ‘नेपाल सरकारले खोप लगाउन उमेर समुह तोकेर प्रोग्राम ल्याएको छ तर रामधुनीमा भने चरम अनियमितता भएको पाइएको छ’, रामधुनीका युवा सत्येन्द्र न्यौपानेले भने, ‘त्यो खोप उमेर समुहलाई मात्र नदिएर त्यसमा २१ वर्षदेखि ३६ वर्षसम्मकालाई दिइएको छ । यही विषयलाई लिएर हामीले नगरपालिकाका अधिकृतलाई भनेका छौँ । चार दिनको अल्टिमेटम दिएका छौँ ।’

दुई दर्जनको हाराहारीमा नगरपालिका पुगेका युवाहरुले नगरले गरेको यो बेइमानीको चारी दिनभित्र सत्यतथ्य बाहिर ल्याउन अल्टिमेटम दिएका छन् । साथै उनीहरुले नगरमा सिफारिसमा आएकाहरुलाई पनि खोप नै नलगाई र्फिता पठाएको आरोपसमेत लगाएका छन् । यस विषयमा नगरपालिकाले पनि आफूबाट गल्ति भएको स्वीकारेको छ । अचम्मको कुरा त के भने नगरपालिकासँग अहिलेसम्म नगरमा कतिले खोप लगाए भन्ने यकिन तथ्याङ्गक पनि छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेले नगरले राखेको तथ्याङ्गक रुजु गर्ने र गल्ति भएको पाइए उसलाई कारबाही गर्ने बताए । ‘यो खासै विवाद त होइन, उनले भने, ‘साथीहरु बुझ्न आउनुभएको थियो नगरले गरेको गतिविधिको विषयमा । कोरोना भाइरस विरुद्धको खोप लगाउँदा हामीले विभिन्न युनिटबाट लगायौँ । त्यो खोप लगाउने क्रममा केही कमी कमजोरीहरु भएका छन् । त्यसलाई हामी सच्याएर चार दिनभित्र हाम्रो वेबसाइटमा राख्छौँ ।’ भेरोसेलको मात्र होइन, नगरमा कोभिसिल्डको खोप पनि कतिले लगाए भनेर तथ्याङ्गक छैन । यता, नगरकी उप्रमुख सबिनाकुमारी चौधरीले यो गल्ति देशैभर भइरहेकाले नगरमा हुनु नौलो विषय नभएको बताइन् । उनले राजनैतिक आग्रह पूर्वाग्रहमा नगरमा किचलो सिर्जना गरिएको आरोपसमेत लगाइन् । प्रमुख प्रशासकीय अधिकृतको भनाइमा ऐक्यबद्धता जनाउँदै उनले पनि गल्ति भेटिए कारबाही गरिने बताइन् ।