इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी निषेधाज्ञा साउन १० गतेसम्म यथावत राख्ने निर्णय गरेको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञा आज मध्यराति समाप्त हुन लागेको तर जिल्लामा कोरोना भाइरसको संक्रमण अझै नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । उनका अनुसार निषेधाज्ञा अवधिमा सबै प्रकारका सार्वजनिक सवारीसाधन सिट क्षमता अनुसार यात्रु राखी सञ्चालन गर्न पाइनेछ । सवारी दैनिक रुपमा निःसंक्रमण गर्ने तथा चालक र स्टाफले मास्क, पञ्जा र भाइजर लगाउने, सबै यात्रुले माक्स लगाउने, सवारीको ढोकामा सेनिटाइजर राख्नेजस्ता मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्नेछ । निषेधाज्ञा अवधिमा सरकारी कार्यालयहरुबाट भीडभाड नहुने गरी पालो अनुसार सेवा प्रवाह गर्नुपर्नेछ ।
यसैगरी, औषधि, स्वास्थ्य सामग्री, इन्धन, खाद्यान्न, तरकारी, फलफूल, डेरीजस्ता पसलहरु दिनभर सञ्चालन गर्न पाइनेछ । यसैगरी, राजमार्ग क्षेत्रका होटल तथा रेस्टुरेन्टहरु बिहान ०८ः०० बजेदेखि राति ८ः०० बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाइनेछ । हाट, मेला, स्विमिङ पुल, जिमखाना, संग्रहालय, पुस्तकालय, डान्स बार, पार्टी प्यालेसजस्ता भीडभाडजन्य क्षेत्रहरु भने सञ्चालन गर्न पाइने छैन ।