इटहरीः सिरहाको मिर्चैया नगरपालिका ६ बाट ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका तीन जना अभियुक्तलाई जिल्ला अदालत सिरहाले पुर्पक्षका लागि कारागार पठाएको छ ।
कारागार चलान हुनेहरुमा मिर्चैया–६ का ४२ वर्षीय सूर्यदेव साफी, उनका छोरा २३ वर्षीय रोहित साफी र गोलबजार ११ का ४५ वर्षीय मो. हकिम फकिर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । कार्यालयका अनुसार अभियुक्तहरुउपर गत जेठ २२ गते साँझ मिर्चैया नगरपालिका–६ स्थित सिद्धी मेडिकोका सञ्चालक स्थानीय ४० वर्षीय रामसागर साफीमाथि मेडिकलमै पुगेर गोली प्रहार गरेको आरोप छ । अभियुक्तहरुमध्ये सूर्यदेव पीडित रामसागरका सहोदर भाइ हुन् ।
सम्पत्ति विवाद र पारिवारिक रिसइबीका कारण उनले नै अन्य अभियुक्तहरुलाई सुपारी दिई आफ्ना दाजुमाथि आक्रमण गर्न लगाएको प्रहरी अनुसन्धानले देखाएको छ । नकावधारी समूहको आक्रमणमा परेका रामसागरलाई देब्रे तिघ्रा र देव्रे कुहिनामा गोली लागेको प्रहरीले जनाएको छ । अदालतको आदेशलगत्तै सबै अभियुक्तलाई कारागार पठाइएको प्रहरीले जनाएको छ ।