इटहरीः मोरङको विराटनगर महानगरपालिका–१६ स्थित भत्केको वालनजिकबाट सशस्त्र प्रहरीले अवैध लागूऔषध तथा हतियारसहित एक भारतीय नागरिकलाई गएराति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनी नगरपञ्चायत–९ इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेल रहेको सशस्त्र प्रहरी बल मोरङका प्रहरी नायबउपरीक्षक डिएसपी गोपीकृष्ण ठाकुरले जानकारी दिए । उनका अनुसार राति १०ः२८ बजे पक्राउ परेका पटेललाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ । पक्राउ परेका अभियुक्तका साथबाट एउटा कटुवा पेस्तोल, लागुऔषध एभिल दुई सय ९२ र लुपिजेसिक दुई सय ९५ एम्पुल तथा एउटा चक्कु र दुईवटा मोबाइल बरामद गरिएको डीएसपी ठाकुरको भनाइ छ ।
अभियुक्त भारतबाट नेपालतर्फ लागूऔषध तथा हतियारको अवैध ओसारपसारमा संलग्न रहेको जनाउँदै प्रहरीले उनीसँग कारोबार गर्ने अन्य अभियुक्तहरुको खोजी तिव्र पारिएको जनाएको छ । पक्राउ परेका अभियुक्तउपर लागूऔषध नियन्त्रण ऐन २०३३ तथा मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाहीका लागि जिल्ला अदालत मोरङको आदेशमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।