इटहरीः इलामको माङ्सेबुङ गाउँपालिका–४ मार्चेबुङस्थित दमक–रवि कच्ची सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी सोही गाउँपालिका ४ का वडा सदस्यको निधन भएको छ ।
दमकबाट इलामतर्फ जाँदै गरेको मे ८ प ६०४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा ३६ वर्षीय वडा सदस्य धनबहादुर राईको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार आफैँ अनियन्त्रित भएको मोटरसाइकल सडकबाट लगभग एक सय मिटर तल खसेको थियो । दिउँसो ४ः०० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका वडा सदस्य राईलाई उपचारार्थ झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पठाइएकोमा उपचारका क्रममा राति ९ः४८ बजे उनको निधन भएको हो ।
दुर्घटनाको कारण सडकको जिर्ण अवस्था रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतक राईको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका कागजपत्रसमेत नभेटिएको जनाउँदै प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।