इटहरीः कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको महामारी सुरु भएयता सञ्चालनमा रोक लगाइएको लामो दूरीको सवारीसाधन भोलि अर्थात् साउन १ गतेदेखि सञ्चालन गर्न दिइने भएको छ ।
लामो समयदेखि यातायातका साधन बन्द हुँदा सर्वसाधारण मर्कामा परेको भन्दै सरकारले लामो दूरीका सवारी जोर बिजोर प्रणालीमा सञ्चालनको अनुमति दिने तयारी गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उनका अनुसार भोलि काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु ललितपुर, भक्तपुर र काठमाडौँका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना महामारीको प्रभावमाथि समीक्षासहित लामो दूरीका सवारी सञ्चालनको निर्णय गर्नेछ ।
हाल काठमाडौँ उपत्यकाभित्र सबै प्रकारका सवारी साधन आन्तरिक रुपमा सञ्चालनमा रहेका छन् । यसअघि महामारीको जोखिमलाई मध्यनजर गर्दै सरकारले कायम गरेको जोर बिजोर प्रणाली काठमाडौँ उपत्यकामा हटाइसकिएको छ । बजार क्षेत्रका सामान्य पसल व्यवसायहरुसमेत निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । तर, विद्यालय, जिमखाना, चिडियाखाना, ट्युसन सेन्टर, सैलुन, ब्युटिपार्लर, सिनेमा हल, डान्सबार, पार्टी प्यालेसजस्ता स्वास्थ्य जोखम उच्च रहेका केही व्यवसाय तथा सेवाहरु र भोजभतेरजस्ता जमघटजन्य गतिविधिमा भने हालसम्म रोक लगाइएको छ ।