म्याग्दीः कोरोना महामारीका कारण गरिखाने वर्गको दैनिकी अस्तव्यस्त बन्दै जान थालेको छ । आफ्नै घर गाउँमा बेरोजगार भइसकेका विपन्न र मजदूरलाई स्थानीय तह र विभिन्न सङ्घ संस्थाले सहयोग गर्दै आएका भए पनि सारङ्गी बोकेर गाउँशहरमा गीत गाउँदै हिड्ने गन्धर्वको पेसा संकटमा परेको छ । विशेषत ः उनीहरू गीतमार्फत सुखदुःख र घटना–दुर्घटनाका खबर सुनाउँदै डुल्थे ।
म्याग्दीको बेनी नगरपालिका–२ फाँपरखेतबाट बसाइँसरी बागलुङको बलेवा गएर पुनः आफ्नै जन्मथलोमा फर्किएका सोमबहादुर गन्धर्वले विभिन्न जिल्लाका गाउँबस्तीमा पुगी सारङ्गी रेट्दै गीत गाएर त्यसबाट कमाएको पैसाले साँझबिहानको गाँस टार्थे । तर, कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा जारी भएपछि उनको दैनिकी असहज बन्दै गएको छ । २० वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वको हिजोआज अरुले दिएकै भरमा आफ्नो गुजारा चलिरहेको छ। देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि आफ्नो अवस्था भने चार दशकअघिकै जस्तो भएको बताउँदै गन्धर्वले खाने गाँस र बस्ने बासको अभावकै कारण कतिपय गन्धर्व आफ्नो पुर्ख्यौली पेसाबाट विस्थापित भई वैकल्पिक पेसा अपनाएको सुनाए ।
कुनै दिन मुम्बई गोरखपुर र कोलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारीलाई दुःख दिएको, विदेशमा युद्ध लड्दालड्दै वीरगति प्राप्त गरेका खबरको बाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्वहरू घट्दै गएका छन् । कोरोना सङ्क्रमण सुरु हुनुभन्दा अघि फाट्टफुट्ट देखिने उनीहरू हिजोआज भने देखिन छोडेका छन् । देश–विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मङ्गला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायतका भाकामा खबर दिँदै घुम्ने गन्धर्व अहिले गरिबीकै कारण पेसा परिवर्तन गर्न बाध्य भएको उनीहरूको गुनासो छ ।
‘सारङगीको धुनमा घटनाक्रमलाई सिलसिलेवार कलात्मक ढङ्गबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे,‘ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले भने, ‘गीत सङ्गीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गन्धर्वका सारङ्गीको धुन नसुनेको धेरै भयो ।‘ सूचना र सञ्चारको पहुचसँगै ग्रामीण क्षेत्रमासमेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्वले पछिल्लो समय विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीतसमेत गाउन थालेका थिए । -रासस