इटहरीः नेपाली कांग्रेसका उपसभापति तथा सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई हाल निलम्बनमा परेका सांसद विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा भएका छन् ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पार्ने कार्यमा संलग्नता देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेयता फरार भनिएका गच्छदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगत्तै आज विशेष अदालतमा हाजिर भएका थिए । अदालतमा बयान तथा थुनछेक बहस सम्पन्न भएपछि उनी धरौटीमा रिहा भएका हुन् । गच्छदारविरुद्ध अख्तियारले दायर गरेको मुद्दामा एक करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
ललिता निवासको जग्गा व्यक्तिका नाममा पार्ने एक सय ७५ जनाविरुद्ध अख्तियारले मुद्दा चलाएकोमा केही अभियुक्तहरु धरौटीमा छुटेका छन् भने केही अभियुक्त थुनामा रहनुका साथै केही हालसम्म फरार रहेका छन् ।