इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रका भ्रष्टाचार र अनियमितता अन्त्य गर्दै पारदर्शिता कायम गर्नुपर्ने माग गर्दै एक महिनादेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले आफ्ना मागबारे नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

समितिले प्रधानमन्त्री तहबाटै आफूहरुका मागको सम्बोधनका लागि सचिवस्तरीय वार्ता टोली गठन गर्न माग गर्दै ४८ घण्टे अल्टिमेटम सहितको ध्यानाकर्षणपत्र प्रधानमन्त्री देउवासमक्ष पठाएको हो । ४८ घण्टाभित्र आफ्ना मागहरुको सम्बोधन नभए शुक्रबारदेखि दैनिक दुई घण्टा प्रतिष्ठानका आकस्मिकसहितका सबै सेवा ठप्प पार्ने चेतावनीसमेत संघर्ष समितिले दिएको छ । प्रतिष्ठानको अवस्था जर्जर बनाउने मुख्य पदाधिकारीहरु उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकहरुले पदमा बसिरहने नैतिक आधार गुमाएकाले उनीहरुले तत्काल राजीनामा दिनुपर्ने भनी आफूहरुले यसअघि नै पटक पटक ध्यानाकर्षण गराइसकेकाले कुलपतिको हैसियतमा हस्तक्षेपकारी भूमिका खेल्न पनि संघर्ष समितिले प्रधानमन्त्री देउवालाई आग्रह गरेको छ । उपकुलपति गिरीको आह्वानमा गत असार १५ गते संघर्ष समिति वार्तामा बसेको थियो ।

वार्तामा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा.गिरीसँगै रेक्टर डा.गुरुप्रसाद खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी, अस्पतालका डेपुटी उपनिर्देशक डा.दिव्यराज मिश्र, सहायक अस्पताल निर्देशक डा.प्रमोद बराल सहभागी भएका थिए । आफैँले आह्वान गरेको वार्तामा उपकुलपति डा.गिरी मदिरा सेवन गरेर आएपछि संघर्ष समितिले वार्ता अस्वीकार गरेको थियो । संघर्ष समितिले प्रतिष्ठानको भ्रष्टाचार तथा अनियमितता छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने, सो आयोगमा संघर्ष समितिका प्रतिनिधिसहित शिक्षा, अर्थ, स्वास्थ्यजस्ता सरोकारवाला मन्त्रालयका प्रतिनिधि तथा प्रतिष्ठानका पूर्व पदाधिकारीलाई संलग्न गराउनुपर्ने, पदाधिकारीहरुसँग प्रत्येक ६ महिनामा प्रतिज्ञापत्र गराई सो अनुरुप कार्यसम्पादन गर्न नसके कारबाही गर्नुपर्ने, उपकुलपति डा.गिरीको प्राध्यापक उपाधिबारे प्रष्ट पार्नुपर्नेलगायतका मागहरु अघि सारेको छ ।

bpkihs letter1 bpkihs letter2