इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक ज्येष्ठ नागरिक महिलाको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका २ घर भएकी ६८ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार असार २४ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ प्रतिष्ठानमा भर्ना भएकी महिलाको उपचारका क्रममा आज बिहान १२ः४५ बजे ज्यान गएको हो । मृतक महिलामा कुनै दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।