इटहरीः चिकित्सा शिक्षा सुधारका लागि पटक पटक सत्याग्रह गर्दै आएका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसी धरान पुगेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा विद्यार्थीहरुले प्रतिष्ठानभित्र मौलाएको भ्रष्टाचार नियन्त्रण र पारदर्शिता नियमित गर्नुपर्ने माग राखी गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन डा.केसी धरान आइपुगेका हुन् । आफ्ना समर्थक चिकित्सकहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भई आजै काठमाडौँ फिर्ता हुने डा.केसीको योजना छ । ‘म बिपी प्रतिष्ठानको बेथिति र अनियमितताविरूद्ध चलिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन आएको हुँ,’ केसीले भने । एक महिनादेखि निरन्तर आन्दोलनमा रहेका प्रतिष्ठानका चिकित्सक तथा विद्यार्थीहरुले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहित मुख्य चार जना पदाधिकारीको राजीनामा माग गरेको छ ।
डा. केसीले प्रतिष्ठान दलीय बफादारिताका आधारमा पदमा पुगेका अधिकारीहरुका कारण धरासयी हुन लागेकोमा केही दिनअघि चिन्ता प्रकट गरेका थिए । गत असार १८ गते एक विज्ञप्ति जारी गर्दै उनले प्रतिष्ठानलाई डुबाएर प्रधानमन्त्री केपी शर्मा ओली निजी अस्पतालको उद्घाटन गर्दै हिँडेको प्रति आपत्ति व्यक्त गर्नुका साथै प्रतिष्ठानको अवस्थामा बिग्रनुमा प्रधानमन्त्री र उपकुलपति जिम्मेवार रहेको जिकीर गरेका थिए । प्रतिष्ठानको अवस्था जर्जर बनाउने मुख्य पदाधिकारीहरु उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकहरुले पदमा बसिरहने नैतिक आधार गुमाएकाले उनीहरुले तत्काल राजीनामा दिनुपर्ने डा. केसीको माग छ ।
शिक्षा ऐनमा भएको व्यवस्था अनुसार प्रत्येक प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज स्थापनाको काम निजी मेडिकल कलेज सञ्चालकहरुको स्वार्थका लागि प्रधानमन्त्री ओलीले रोकिरहेको आरोप लगाउँदै डा.केसीले अहिले बीपी प्रतिष्ठानलाई डुबाएर आफ्ना कार्यकर्ताको अस्पताललाई अवैध रुपमा मेडिकल कलेजको सम्बन्धन दिन प्रधानमन्त्री ओलीले निरन्तर नाजायज दबाब दिइरहेको समेत बताएका थिए ।