इटहरीः कोरोना महामारीले विश्वलाई आक्रान्त पारेको यो समयमा यसबाट छुटकारा पाउने अनेक उपायमध्ये ‘इम्यूनिटि पावर’ अथवा प्रतिरक्षा शक्ति पनि एक हो ।

कोरोना लागेको समयमा होस् वा कोरोना लाग्नै नदिनका लागि भन्दै विभिन्न चिजबिजको सेवन र प्रयोग गरिन्छ प्रतिरक्षा शक्ति कम नहोस् भनेर । आखिर के हो त ‘इम्युनी सिस्टम’ वा प्रतिरक्षा प्रणाली भनेको ? र यसले कसरी काम गर्छ भनेर तपाईँको मनमा प्रश्न उठ्नु जायज हो । मानव शरीरको महत्वपूण भागमध्ये एक हो ‘इम्यून सिस्टम’ अर्थात् प्रतिरक्षा प्रणाली । र, योबिना हामी धेरै लामो समय बाँच सक्दैनौँ । अर्को अर्थमा भन्ने हो भने प्रतिरक्षा प्रणाली भनेको हाम्रो शरीरमा भएका सेल र प्रोटिनको प्रणाली हो । जसले मानिसलाई विभिन्न संक्रमण र रोगबाट बचाउन मद्दत गर्दछ । यसले किटाणुको अनावश्यक सम्पर्कबाट बचाउन आवश्यक बल प्रदान गर्ने हुँदा मानिस जन्मिएपछि यो झन् विकसित हुँदै जान्छ । यसले मानिसलाई बाँचन र स्वस्थ राख्न ठूलो भूमिका खेल्दछ । प्रतिरक्षा प्रणालीबिना मानिसको स्वस्थ जीवन निर्वाह असम्भव छ । प्रतिरक्षा प्रणालीमा सेतो रक्तकोषको योगदान महत्वपूण हुन्छ । सेता रक्तकोषिका मानव शरीरको ‘बोन म्यारोमा’ उत्पादन हुन्छन् । जसले हाम्रो शरीरमा क्षति पूर्याउने बाहिरी किटाणु, शुक्ष्म जीवाणु र ब्याक्टेरीयाबाट बचाउने काम गर्दछ ।

immune-system-role

प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ ?
सुरुमा प्रतिरक्षा प्रणालीले मानव शरीरलाई हानि पूर्याउने जिवाणुले मानव शरीरमा कसरी प्रभाव पार्दछ भनेर थाहा पाउन सुरु गर्छ र त्यसलाई परास्त गर्न बाटो बनाउँछ । यसै कारण हाम्रो शरीरमा कुनै नयाँ भाइरस प्रवेश गरे यसले सुरुमा थाहा पाउने काम गर्छ । त्यसको लागि एकदेखि दुई सातासम्मको समय लाग्छ । त्यसपछि त्यसलाई मार्न आवश्यक ‘एन्टिबडी’ बनाउन थाल्छ । यति मात्र होइन, हाम्रो शरीरमा विशाक्त किटाणु र जिवाणु वा भाइरसलाई प्रवेश गर्नुपूर्व नै रोक्ने काम पनि प्रतिरक्षा प्रणालीले गर्छ । तर, पुरानै संक्रमण छ भने यसले प्रवेश गरेलगत्तै काम गर्न थाल्छ । अनि हामीलाई कुनै पनि संक्रमणसँग जुध्न सहयाग गर्दछ ।

प्रतिरक्षा प्रणाली कहाँ हुन्छ ?
प्रतिरक्षा प्रणाली हाम्रो शरीरको यही भागमा मात्र हुन्छ भनी किटानै गरेर भन्न सकिँदैन । किनभने प्रतिरक्षा प्रणाली हाम्रो शरीरको विभिन्न भागमा हुन्छ । हाम्रै शरीरमा भएका विभिन्न तत्वहरुले यो प्रणाली बन्ने हुँदा शरीरका विभिन्न भागमा यो पाइने गरेको हो । हाम्रो शरीरमा हरेको छाला पनि प्रतिरक्षा प्रणालीको एक तत्व हो । छालाले शरीरमा ब्याक्टेरिया र भाइरस प्रवेशमा रोक लगाउने काम गर्छ । यस्तै, मानव शरीरमा रहेका अन्य ‘अर्गान’ले पनि अनावश्यक जीवाणु र भाइरस मानव शरीरमा प्रवेश हुन दिँदैन । जसले हाम्रो शरीरमा ‘पासो’ का रुपमा काम गर्दछ । मानव शरीरको बाहिरभन्दा भित्र धेरै प्रतिरक्षा प्रणालीका तत्व रहेका हुन्छन् । त्यसमध्ये एक सेतो रक्तकोषिका हो । जसले बाहिरबाट हाम्रो शरीरमा भाइरस प्रवेश गरिहाले त्यसलाई मार्ने काम गर्छ । यो रगतको माध्यमबाट हाम्रो शरीरको प्रत्येक कोष–कोषमा पुगेको हुन्छ र अनावश्यक रुपमा प्रवेश गरेका हानिकारक भाइरसको ‘सर्च एण्ड किल’ (खोजी र मार्ने) काम गर्दछ । यस्तै, हाम्रो शरीरमा रहेको लसिका प्रणालीमा पनि प्रतिरक्षा प्रणालीका तत्वहरु पाइन्छन् । त्यहाँ रहेका तन्तुहरुले रक्तकोषिका आवश्कता अनुसार उत्पादन र भण्डारण गर्ने काम गर्छ ।

white-blood-cell

प्रतिरक्षा प्रणालीले राम्रोसँग काम नगर्दा के हुन्छ ?
प्रतिरक्षा प्रणालीबिना मानिस कहिल्यै निरोगी वा स्वस्थ हुन सक्दैन । हामी सँधै बिरामी भइरहन्छौँ । यसका साथै अनगिन्ति, असंख्यक भाइरस, जिवाणु, किटाणु र व्याक्टेरियाको हामी सिकार बन्छौँ । हाम्रो शरिरले काम गर्न छोड्छ । हामी संक्रमणसँग जुध्न सक्दैनौँ । यति मात्रै होइन, त्यस्ता भाइरस र किटाणुले हाम्रो प्रतिरक्षा प्रणाली नै नष्ट गर्छ । यसको प्रभाव निरन्तर बढ्दै गए हाम्रो प्रतिरक्षा प्रणालीले नै काम गर्न छोड्छ । यो अवस्थामा पुग्नुलाई हामी ‘अटोइम्युन डिजिज’ भन्छौँ । यो रोगले हाम्रो स्वस्थ्य प्रतिरक्षा प्रणालीलाई मार्दछ जसले गर्दा प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ।

immune system rash deases

प्रतिरक्षा प्रणालीलाई कसरी बचाउने ?
तपाईँ हामीसँग त्यस्ता धेरै उपायहरु छन् जसले हाम्रो शरीरमा रहेको प्रतिरक्षा प्रणालीलाई बचाउन, स्वस्थ राख्न र बढाउन मद्दत गर्दछ । तीमध्ये केही तल उल्लेख गरिएको छ । जसको पालना गर्न सके प्रतिरक्षा प्रणाली बचाउन सकिन्छ:–

१ धुम्रपान र मद्यपान परित्याग गर्ने वा सेवन नगर्ने
२ पर्याप्त मात्रमा सुत्ने समय मिलाउने, चाँडै सुत्ने र चाँडै उठ्ने बानी बसाल्ने,
३ पर्याप्त मात्रामा हरियो सागपात र ताजा फालफू खाने,
४ पर्याप्त मात्रामा योगाभ्यास र शारीरिक कसरत गर्ने,
५ स्वच्छ वतावरणमा बस्ने, र
६ अनावश्यक रुपमा मानसिक तनाव नलिने