इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमित बढ्न थालेका छन् ।
निषेधाज्ञा परिमार्जित भएपछि मानवीय आवतजावत अनियन्त्रित र अस्तव्यस्त हुँदै जाँदा इटहरीमा संक्रमिको संख्या उकालो लाग्न थालेको हो । इटहरी उमहानगपालिकाले इटहरी आइसोलेसनमा गरेको स्वाब परीक्षण र उद्योग वाणिज्य संघ इटहरी पिपुल्स मल्टिपल हेल्ट इन्स्टिच्युटमा सञ्चालनमा ल्याएको कोरोना रिफिल सेन्टरमा गरिएको पीसीआर परीक्षणका क्रममा गत असार २२ गतेदेखि यता मात्र तीन सय १ जनामा कोरोना पोजेटिभ देखिएको छ । अहिले इटहरीका यी दुई स्थानसँगै कतिपयले व्यक्तिगत रुपमा पनि कोरोना परिक्षण गराउँदै आएका छन् । यसका साथै एन्टिजेन परीक्षणलाई पनि उमहानगरपालिकाले जोड दिएको छ । यसले पनि माथि उल्लेखित तथ्याङ्कभन्दा इटहरीमा कोरोना संक्रमित बढी भएको पुष्टि हुन्छ । असार २२ गते रंगशाला आइसोलेसनमा गरिएको ५३ जनाको परीक्षण गर्दा पाँच जना पुरुष र ११ जना महिला गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सोही दिन पिपुल्समा ११ जनाको परीक्षण गर्दा ५ जनालाई पोजेटिभ देखिएको थियो । यस्तै असार २३ गते रंगशालामा स्वाब संकलन गरिएका ६८ जनामध्ये ११ पुरुष र १० महिला गरी २१ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । असार २४ गते रंगशालामा ५० जनाको परीक्षणको क्रममा १६ पुरुष र १० महिला गरी २६ जनामा कोरोना पोजेटिभ आएको थियो भने पिपुल्समा २८ जनाको परीक्षण गर्दा १२ जनामा संक्रमण देखियो । असारकै २५ गते रंगशालामा ६६ जनाको परीक्षण गर्दा १६ पुरुष र १३ महिला गरी २९ जना र पिपुल्समा २९ जनाको परीक्षण गर्दा ९ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । यस्तै, असार २६ गते रंगशालामा गरिएको परीक्षणमा ५९ जनाको परीक्षण गर्दा ९ पुरुष र ११ महिला गरी २० जनामा संक्रमण देखियो भने सोही दिन पिपुल्समा १७ जनाको परीक्षण गर्दा १२ जनामा संक्रमण देखियो ।
२७ असारमा रंगशालामा २१ पुरुष र १९ महिला गरी ४० जना कोरोना संक्रमित थपिए भने पिपुल्समा ४१ जनाको परीक्षणको क्रममा १५ जनामा कोरोना संक्रमण पोजेटिभ देखियो । असार २८ गते रंगशालामा १२७ जनाको पीसीआर गर्दा २६ जनामा संक्रमण देखिएको छ भने ३० जनाको रिपोर्ट आउन बाँकी छ । यता, सोही दिन पिपुल्समा ३२ जनाको परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको छ । असार २९ गते इटहरी आइसोलेसनमा ९६ जनाको पीसीआर गरिएकोमा सोको रिपोर्ट आएको छैन ।
आइसोलेसन खाली
इटहरी उपमहानगरपालिकाले ९ नम्बर वडाको रंगशालामा निर्माण गरेको आइसोलेसनमा अहिले संक्रमितको संख्या शून्य भएको छ । हिजो अर्थात् आसर २८ गते यहाँ रहेका २ जना संक्रमित डिस्चार्ज भएसँगै संक्रमितको संख्या शून्य भएको आइसोलेसन केन्द्रका इन्चार्ज शिवकुमार झाले जानकारी दिए । २० बेड महिलाका लागि र ३० बेड पुरुषका लागि भनेर ५० बेड क्षमताको आइसोलेसन उपमहानगरले वैशाख ३० गतेबाट संक्रमित राख्न थालेको थियो । यसका साथै उपमहानगरले ६ बेड क्षमताको छुट्टै कोभिड विशेष अस्पताल पनि सञ्चालन गरेको थियो । अहिले यी सबै बेड खाली भएका छन् । संक्रमित आइहाले राख्नको लागि ‘हाइ वास’ गरेर आइसोलेसनलाई राखिएको इन्चार्ज झाले जानकारी दिए ।
आइसोलेसन सञ्चालन भएको एक महिना बितिसक्दा यहाँ एक सय ११ जना संक्रमित भर्ना भएको उनले जानकारी दिएका छन् । तीमध्ये पुरुष ५९ जना र महिला ५२ जना रहेका छन् । यस्तै, तीन जना १५ वर्ष मुनिका बालक पनि आइसोलेसनमा आएर निको भएका झाले जानकारी दिए । संक्रमितमध्ये आइसोलेसनमा नै बसेर निको भई ८३ जना घर फर्किएका छन् भने २७ जनालाई प्रदेशका विभिन्न अस्पतालमा रेफर गरिएको छ । यता, पिपुल्समा पनि कोरोना संक्रमित बढ्दै गए पनि आइसोलेसनमा बस्नेको संख्या भन्ने घट्दै गएको आइसोलेसन इन्चार्ज किरण चौधरीले जानकारी दिइन् । उनले पछिल्लो समय यहाँ गरिएको परीक्षणमा ५० प्रतिशतदेखि ७५ प्रतिशतसम्म संक्रमित देखिए पनि आइसोलेसनमा आउनेको संख्या घट्दो दरमा रहेको जानकारी दिइन् । ४० अक्सिजनजडित बेडसहित ९० बेडको आइसोलेसन रहेको त्यहाँ अहिले संक्रमितको संख्या १० रहेको छ ।
संक्रमित बढ्दा मौन उपमहानगर
निषेधाज्ञा परिमार्जित भएर आवातजावात बाक्लिएकै कारण कोरोना संक्रमण बढेको स्वास्थ्यकर्मीले बताइरहँदा इटहरी उपमहानगरले भने नियन्त्रणका कुनै उपाय अपनाएको पाइएको छैन । संक्रमण नियन्त्रणका लागि आफूहरु सबैलाई खोप उपलब्ध गराउन प्रयासरत रहेको उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख घनश्याम सिग्देल बताउँछन् । निषेधाज्ञा खुकुलो भएसँगै इटहरीमा संक्रमित संख्या बढेकोमा उनी पनि सहमत छन् । कोरोना रोकथामको लागि आफूहरुले परिक्षणको दायरा बढाएको उनी बताउँछन् । यसले कोरोना संक्रमण मत्थर हुनेमा उनी ढुक्कजस्तै देखिन्छन् । उनले भनेजस्तै परीक्षण र खोप उपलब्ध गराउन सके कोरोना रोकथाम होल तर त्यसका लागि नेपाल सकरकारले व्यवस्था गर्न धौ धौ परेको खोप उपमहानगरले कसरी उपलब्ध गराउल भन्ने विषयमा शंका पैदा हुन थालेको छ ।