इटहरीः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् ।
गत जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको प्रतिनिधिसभा भंग गर्न गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक भंग गरेको संसद सर्वोच्च अदालतको हिजोको आदेशबाट पुनःस्थापित भएसँगै ओली पदमुक्त भएका हुन् । नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (५) बमोजिम एक सय ४९ सांसदको समर्थनसहित आफूलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष देउवाले गरेको दाबी उचित रहेको ठहर गर्दै अदालतले हिजै देउवालाई आज साँझ ७ः०० बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
सोही परमादेशका आधारमा देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् । यसअघि २०५२, २०५८, २०६१ र २०७४ मा प्रधानमन्त्री नियुक्त भइसकेका देउवा आज पाँचौँ पटक प्रधामन्त्री नियुक्त भएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आजै साँझ ६ः०० बजे देउवालाई राष्ट्रपति भण्डारीले सपथग्रहण गराउने कार्यक्रम छ ।