इटहरीः १ नम्बर प्रदेश उच्च अदालत इलाम इजलासको प्राङ्गणमा मृत फेला परेकी सोही अदालतकी कार्यालय सहयोगी महिलाको हत्यामा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकको संलग्नता रहेको खुलेको छ ।
४८ वर्षीया बिमलाकुमारी पराजुलीको हत्या गरेको आरोपमा सोही अदालतका न्यायाधीश शिवनारायण यादवका अङ्गरक्षक प्रहरी सहायक निरीक्षक (असइ) युवराज बानियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार धनकुटा घर भएका ३५ वर्षीय बानियाँ र मृतक महिला दुवै विवाहित रहेकोमा उनीहरुबीच अवैध सम्बन्धसमेत रहेको थियो । सोही सम्बन्धमा आर्थिक लेनदेनको कुरा नमिल्दा आफूले पराजुलीको हत्या गरेको अभियुक्त बानियाँले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
अभियुक्तले आरोप स्वीकार गरेपछि उनीउपर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाउन जिल्ला अदालतको आदेशमा पाँच दिनका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । २०७३ सालदेखि उच्च अदालत इलाम इजलासमा कार्यरत अभियुक्त बानियाँले न्यायाधीश यादव बिदामा बसेको अवस्थामा अदालतको क्वार्टरमै बस्दै आएकी पराजुलीको हत्या गरेका हुन् ।