काठमाडौँः नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ ।
नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो । नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई विस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको हो । योसँगै नर्भिक अस्पतालको नाम यसअघिको ‘नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि’बाट रुपान्तरित भई ‘नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड’ भएको छ ।
पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि साधारण सेयरको प्राथमिक निष्कासन(आइपीओ) समेत गर्नेछ । नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्नेगरी काम अगाडि बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।