इटहरीः प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ः०० बजेका लागि बालुवाटारमै बोलाइएको एमाले स्थायी समितिको बैठकपछि उनले सम्बोधन गर्ने भएका हुन् । जेठ ८ गते मन्त्रिपरिषद् बैठकबाट ओलीले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन मध्यराति विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको हिजोको आदेशले पुनःस्थापित भएको छ । यससँगै प्रधानमन्त्री ओली विश्वासको मत प्राप्त गर्न नसकेका कारण पदमुक्त हुने भएका छन् ।

सर्वोच्च अदालतले नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (५) बमोजिम एक सय ४६ सांसदको समर्थन पाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज साँझ ७ः०० बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेशसमेत जारी गरेको छ । सोही आदेश अनुसार देउवालाई आजै प्रधानमन्त्रीको सपथग्रहण गराउने तयारी छ ।