धरानः सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै सुनसरीको धरानमा पनि विपक्षी गठबन्धनले दीप प्रज्वलन गरेका छन् ।
सोमबार साँझ नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतको उपस्थितिमा धरानको भानु चौकमा संयुक्त रुपमा दीप प्रज्वलन गरिएको थियो । दीप प्रज्वलनमा माओवादी केन्द्रका नेताहरु, आइन्द्रविक्रम बेघा, फोक्वाहाङ्ग लिम्बू चोत्लुङ, पूर्णबहादुर भुजेल, भूमिका चौलागाईँ,अशोक राई, सुदर्शन श्रेष्ठ, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्बू लगायतको उपस्थिति थियो । नेपाली कांग्रेसले भने धरान १८ स्थित पार्टी कार्यालयअगाडि संसद पुनः स्थापना भएको खुसियालीमा नेपाली कांग्रेस धरान नगर समितिको तर्फबाट सर्वोच्च अदालतलाई धन्यवाद दिँदै दीप प्रज्वलन गरेको हो । साथै, सर्वोच्चलाई धन्यवाद दिँदै नेपाली काङ्ग्रेस समर्थकले विभिन्न नारासमेत लगाएका थिए ।
यसैगरी, महेन्द्र बहुमुखी क्याम्पसको गेटअगाडि धरानका पाँच वटा विद्यार्थी संगठनले सर्वोच्चको फैसलालाई स्वागत गर्दै दीप प्रज्वलन गरेका छन् । नेवि संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी यूनियन र अखिल छैटौका विद्यार्थीहरुले दीप प्रज्वलन गरेका थिए । दीप प्रज्वलन कार्यक्रममा गठबन्धनमा रहेका माधवकुमार नेपाल पक्षका नेताकार्यकर्ताहरु भने कतै सहभागी भएका थिएनन् ।