काठमाडौँः मुलुकका ७७ वटै जिल्लामा सरकारले आज (मङ्गलबार)देखि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ ।

खोपको पहिलो मात्रा लगाउनलाई अभियान सञ्चालन गरिने भएको हो । चीनबाट आएको भेरोसेल र सोमबार अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप ७७ वटै जिल्लामा लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए । विभागले भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपको लक्षित समूह छुट्याएको छ । उनका अनुसार भेरोसेल ५५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नागरिकलाई खोप लगाइने छ । यस्तै, भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने छ । नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका नेपाली नागरिकलाई पनि भेरोसेलको पहिलो डोज लगाइने छ ।

यसैगरी, सोमबार आएको १५ लाख जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक र हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइने छ। जोनसन खोपको मात्रा एकपटक मात्र दिएपछि पुग्दछ । मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी र यसअघिको अभियानहरुमा खोप लगाउन छुट भएका सबै जनालाई खोप लगाइने सिंहले जानकारी दिए । खोप लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ । यस्तै, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुको हकमा आधिकारिक परिचयपत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप प्रदान गरिनेछ ।

विश्वविद्यालय र विद्यालयका शिक्षक एवं कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचयपत्रका आधारमा, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकको हकमा पासपोर्ट र भिसाका आधारमा तथा पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकको हकमा नेपाल सरकारले जारी गरेको प्रमाणपत्रका आधारमा खोप प्रदान गरिने मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कूल जनसङ्ख्याको ८.८ प्रतिशत जनसङ्ख्या अर्थात् २६ लाख ११ हजार आठ सय सात जनाले पहिलो मात्रा र ३.५ प्रतिशत अर्थात् १० लाख ४१ हजार तीन सय ६६ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । -रासस