इटहरीः प्रदेश १ सरकारले खोटाङ जिल्ला अस्पताललाई फुल्ली अटोमेटिक बायोकेमेष्ट्रि एनालाईजर मेसिन हस्तान्तरण गरेको छ ।
सामाजिक विकास मन्त्री उषाकला राईले खोटाङ अस्पतालका ल्याव टेक्निसियन शेखर अधिकारीलाई सो मेसिन हस्तान्तरण गरिन् । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरले खरिद गरेको सो मेसिन खोटाङ अस्पताललाई हस्तान्तरण गरिएको हो । जिल्ला अस्पतालमा अत्यधिक बिरामीको चाप रहेकाले सुगर, लिभर फङ्सन लगायतको परीक्षणमा समस्या हुँदै आएको थियो । सो मेसिनले एक घण्टामा साढे ३ सय नमूना परीक्षण गर्ने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख सम्भु साहले जानकारी दिए ।
एकै पटकमा ७२ वटा नमूनाहरु राख्न सकिने उनले बताए । फुल्ली अटोमेटिक बायोकेमेष्ट्रि एनालाइजर मेसिनको बजार मुल्य करिब ३५ लाखसम्म पर्ने साहको भनाइ छ । सामाजिक विकास मन्त्री राईले जिल्ला अस्पतालहरुलाई आवश्यकताका आधारमा स्वास्थ्य उपकरणहरु प्रदेश सरकारले प्रदान गर्दै जाने बताइन् । खोटाङ अस्पतालका ल्याब टेक्निसियन अधिकारीले परीक्षणमा सहज हुने र उपचारमा पनि सरलता आउने बताए ।