इटहरीः सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभाग अगाडिबाट एक सेतो कोटधारी महिला डाक्टर बाहिर निस्किन्छिन्, पार्किङमा राखेको आफ्नो स्कुटर स्टार्ट गर्छिन् र अगाडि बढ्छन् ।
निकै हतारमा देखिएकी उनी तिव्र गतिमा स्कुटरमा प्रतिष्ठानको क्वाटरतर्फ मोडिन्छिन् । यो दृश्यले सामान्य परिस्थितिको वर्णन गरे पनि उनले हेल्मेट नलगाई सवारी चलाएको दृश्य भने असामान्यजस्तो थियो । तिव्र गति त्यसमा पनि अस्पताल क्षेत्रमा हुने भीडभाडको प्रभाव ती डाक्टरमा कतै थिएन । केही क्षणमै बाइकमा अर्को दुई जना सेतो कोटधारी पुरुष डाक्टर पनि हेल्मेटबिनै निर्धक्क बाइक चलाउँदै प्रसुति विभागतर्फ लाग्छन् । यत्तिकैमा बीपी प्रतिष्ठानका सुरक्षा गार्डहरू पनि बिना हेल्मेट सोही समय बाइकमा दौडिरहेका देखिन्छन् । बीपी प्रतिष्ठान भित्रको सडकमा गुड्ने अधिकांश बाइक÷स्कुटरमा सवार स्वास्थ्यकर्मीहरू तथा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरु बिनाहेल्मेट यसरी नै सवार हुने गरेका छन् । सडक दुर्घटनामा दुई पाङ्ग्रे सवारीसाधन बढी पर्ने र त्यस्ता दुर्घटनालाई रोकथाम गर्न सुरक्षात्मक उपायका रूपमा हेल्मेट अनिवार्य लगाउनुपर्ने ट्राफिक प्रहरीको नियम छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा पनि स्पष्ट रूपमा दुई पाङग्रे सवारी साधन चलाउँदा चालक र सोमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने उल्लेख गरेको छ । तर बीपी प्रतिष्ठानभित्र निर्वाध रुपमा हेल्मेटबिनै यहाँका चिकित्सक, नर्स तथा विद्यार्थीले बाइक÷स्कुटर चलाउने गरेका छन् । हेल्मेट नलगाई स्कुटर सवार एक महिला चिकित्सकलाई यो प्रसङ्गमा प्रश्न गर्दा उनी अवाक भइन् । ’क्वाटर र हाम्रो काम गर्ने विभागको दूरी मात्र ५ मिनेटको छ । त्यहीँदेखि यहाँ आउन किन लगाइरहनु भनेर मात्र हेल्मेट नलगाएको हो ।’ उनले थपिन ‘यहाँ स्टाफहरू कसैले नि हेल्मेट लगाउँदैनन्, बानी पनि भएर हो कि ? यस्तै, हेल्मेट नलगाई हिँड्ने अन्य चिकित्सक, नर्स तथा विद्यार्थीहरुका समेत जवाफ समान भेटिए ।
एक हजार पाँच सयसम्म जरिवाना
ट्राफिक प्रहरीले हेल्मेट नलगाई सवारीसाधन चलाउँदा न्यूनतम पाँच सयदेखि अधिकतम एक हजार पाँच सयसम्म नगद जरिवाना गर्ने प्रावधान छ । तर प्रतिष्ठानभित्र ट्राफिक प्रहरीको उपस्थिति नहुने हुँदा यहाँ ट्राफिक नियम कार्यान्वयन नभएको पाइन्छ । प्रतिष्ठानमा हेल्मेट नलगाई सवारी चलाउँदा समय समयमा दुर्घटनासमेत हुने गरेको अवस्था छ । प्रतिष्ठानभित्र दुर्घटना हुने र बाहिर प्रहरीले मिलापत्र गराएका धेरै उदाहरण भएको प्रतिष्ठानका सुरक्षा गार्ड बताउँछन् । प्रतिष्ठानभित्र प्रायः स्वास्थ्य सेवा लिन आउने बिरामी तथा उनका आफन्तहरूले मात्र हेल्मेट प्रयोग गरेको देखिन्छ ।
अब एक्सन हुन्छः ट्राफिक प्रहरी
१ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी वासुदेव खतिवडाले ट्राफिक नियम जुनसुकै सार्वजनिक स्थानहरूमा लागु हुने स्पष्ट पारे । बीपी प्रतिष्ठानभित्र सडक मार्ग धेरै रहेकाले पनि ट्राफिक नियम लागु हुने र हेल्मेट नलगाई हिँड्नेहरुको हकमा ‘एक्सन’ हुने उनले बताए । प्रतिष्ठानभित्र अब ट्राफिक प्रहरीको अनुगमन हुन्छ र यसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले समन्वय गर्ने एसपी खतिवडाले जानकारी दिए ।