इटहरीः प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित भएको अवसरमा सुनसरीको इटहरीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा दीप प्रज्वलन गरेको छ ।
दीप प्रज्वलन कार्यक्रमलाई नेपाली कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेल र नेकपा माओवादी केन्द्रका नेता मदन चुडालले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा नेताद्वयले सर्वोच्च अदालतको ऐेतिहासिक निर्णयबाट संविधानको मर्म र भावनाको सम्मान भएको र विधिको शासनको सुनिश्चितता भएको बताएका थिए । प्रधानमन्त्री ओलीको अदुरदर्शितका कारण दुर्घटनामा पर्न लागेको देशलाई अदालते दिशानिर्देश गरेको उनीहरुको भनाइ थियो । कार्यक्रम नेपाली कांग्रेस महासमिति सदस्य भरत गौली, नेपाल तरुण दल जिल्ला सभापति सिजन गुरुङ, नेपाल विद्यार्थी संघ सुनसरी सभापति मन्दीप भट्टराई लगायतको उपस्थितिमा सम्पन्न भएको नेपाली कांग्रेस इटहरी नगर सदस्य तथा सोही पार्टीको शुभेच्छुक सँस्था बीपी अध्ययन प्रतिष्ठानका १ नम्बर प्रदेश सदस्य दिव्यराज गुरुङले जानकारी दिए ।
गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गर्दै फागुन १० गते पुनःस्थापित गरिदिएकोमा प्रधानमन्त्री ओलीले जेठ ८ गते पुनः मन्त्रिपरिषद् बैठकबाट सिफारिस गरी मध्यरातमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी थिइन् । सो विघटन असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एक सय ४६ सांसदहरुले सर्वोच्च अदालतमा रिट दायर गरेपछि सोको अन्तिम सुनुवाइ गर्दै अदालतले आज संसद पुनःस्थापना गरिदिएको हो । संसद पुनःस्थापनासँगै अदालतले साउन ३ गते अपराहन्न ५ः०० बजेसम्म बस्नेगरी संसद अधिवेशन आह्वान गर्न पनि आदेश दिएको छ । यसका साथै एक सय ४६ सांसदको समर्थनप्राप्त देउवालाई नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (५) बमोजिमको प्रधानमन्त्री नियुक्त गर्न पनि परमादेश जारी गरेको छ ।