इटहरीः सुनसरीको वराहक्षेत्र नगरपालिकामा विपन्न नागरिक र लघुवित्त तथा बैँकबीच एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नगरको सामाजिक विकास शाखाको आयोजना र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) को सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा नगरका विभिन्न वडाका वार्षिक ३८ हजारभन्दा कम आयआर्जन गर्ने महिलाहरुको सहभागिता रहेको थियो । यस्तै, नगरपालिकामा स्थापना भएका तथा शाखा कार्यालय रहेका बैंक तथा लघुवित्तका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । बिनाधितो बैकबाट ऋण लिन सकिन्छ कि सकिँदै न र त्यसको लागि के के प्रक्रिया पूरा गर्नुपर्छ भन्नेमा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको हो । सहभागीले बैँकबाट सुलभ ब्याजदरमा ऋण पाए पनि मासिक रुपमा भुक्तानी गर्न असम्भव रहेको धारणा राखेका छन् ।

यता, बैँक तथा लघुवित्तले भने नेपाली बैँकहरुको अभिभावक नेपाल राष्ट्र बैँकले नै यो नियम ल्याएकाले त्यसमा आफूले केही गर्न नसक्ने बताएका छन् । यस विषयमा स्थानीय सरकारसँग समन्वय गर्न कार्यक्रममा सहभागिलाई उनीहरुले सुझाएका थिए । यस्तै, कतिपय बैँकले बिनाधितो ऋण नै उपलब्ध गराउन नसक्ने बताएका छन् भने सहकारीले उपलब्ध गराए पनि १५ प्रतिशत् ब्याज तिनुपर्ने हुँदा आफ्नो हितमा नभएको विपन्न नागरिक बताउँछन् ।