इटहरीः १ नम्बर प्रदेशका झापा, इलाम र सुनसरी जिल्लाका तीन छुट्टाछुट्टै स्थानबाट आइतबार राति अवैध लागूऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ परेका छन् ।
सुनसरीको इटहरी उप–महानगरपालिका–४ क्षितिज मार्गमा लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले तेह्रथुमको म्याङलुङ ६ घर भई हाल इटहरी उपमहानगरपालिका–४ बस्ने ३४ वर्षीय दुर्गा रसाइलीलाई लागूऔषधसहित पक्राउ १ नम्बर प्रदेश प्हरी कार्यालय विराटनगरले जनाएको छ । रसाइलीका साथबाट प्रहरीले ५३ ग्राम २०० मिलिग्राम लागूऔषध ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, मोबाइल सेट ३ थान र नगद ९८ हजार १ सय ७५ बरामद गरेको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।
यसैगरी झापाको शिवसताक्षी नगरपालिका–६ बाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । आइतबार राति ९ः०० बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ वर्षीय रियाज अन्सारी र शिवसताक्षी नगरपालिका–४ का २१ वर्षीय सञ्जय प्रधानलाई लागूऔषधसहित पक्राउ गरेको हो । उनीहरुका साथबाट प्रहरीले ५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर, नगद १३ हजार रुपैयाँ, चार थान मोबाइल र उनीहरुले प्रयोग गरेको को ७ प ४९०७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । यस्तै, इलामको चुलाचुली गाउँपालिका–५ का २९ वर्षीय प्रसाद लिम्बूलाई पनि प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । आइतवार राति १०ः०० बजे प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले ३३० मिलिग्राम लागुऔषध ब्राउनसगुर र नगद २० हजार दुई सय १० रुपैयाँसहित लिम्बूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबै अभियुक्तहरुलाई हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।