इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–५ बाट ठुलो परिणामको लागूऔषध ट्याब्लेटसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका–५ का २२ बर्षीय मनिर उदिम मिया र इनरुवा नगरपालिका–३ का ५७ बर्षीय नारायण प्रसाद सिवाकोटी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केशवकुमार कट्वालका अनुसार अभियुक्तहरुका साथबाट प्रतिबन्धित लागूऔषध नाइट्रोसन एक हजार ट्याब्लेट तथा २ थान मोबाइल र नगद ४० हजार ५ सय रुपैयाँ बरामद भएको छ ।

लागूऔषध कारोबारको गोप्य सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रवक्ता कट्वालले जानकारी दिए । पक्राउ परेका अभियुक्तहरुउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही चलाइने प्रहरीले जनाएको छ ।