इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलामा आज बिहान एक महिलाको शव फेला परेको छ ।
शव फेला पर्नेमा सुन्दरहरैँचा ७ घर भएकी २४ वर्षीया छेविनी ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जनार्दन जीसीका अनुसार अर्धनग्न अवस्थामा महिलाको शव फेला परेपछि स्थानीय खबर गरेलगत्तै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोली घटनास्थलमा परिचालित भई मुचुल्का संकलन गरेको थियो ।
कम्मरमुनि कपडाविहीन भई कम्मरमाथि भित्री वस्त्र लगाएको अवस्थामा खोलाको बीचमा रहेको भंगालोमा शव भेटिएको एसपी जीसीले जानकारी दिए । मृतक महिलाको शरीरमा बाहिरी चोट नदेखिएपनि श्रीमानसँग गएराति वादविवाद भएको स्थानीयले बताएपछि २६ वर्षीय श्रीमान मन्जे ऋषिदेवलाई हिरासतमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।